बेनी–जोमसोम सडक आयोजनाका मजदुर आन्दोलित

बेनी, १५ पुष । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनामा कार्यरत मजदुर आन्दोलित भएका छन् ।

सडक आयोजनाको ठेकेदार कम्पनीले मजदुर र सहायक ठेकेदारहरुलाई महिनौ सम्म ज्याला नदिएपछि उनिहरु आन्दोलनमा उत्रिएका हुन् । गलेश्वर देखि नारच्याङ पुल खण्डको पहिलो प्याकेजको ठेकेदार कम्पनी शर्मा–युनाइटेडका विरुद्धमा मजदुरले आन्दोलन सुरु गरेका छन् ।

पिडित मजदुरहरुको ज्याला दिन गरेको प्रतिवद्धता कार्यान्वयन नगरेपछि नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)को नेतृत्वमा मंगलबार युनाइटेड कम्पनीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ स्थित साइट कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीपछि मजदुरहरुले ज्याला नदिने ठेकेदार विरुद्ध नाराबाजी गर्दै भुरुङ्ग तातोपानी सम्म जुलुस प्रर्दशन गरेका थिए । पिडित बेदबहादुर थापाले बुधबार जिल्ला प्रशासन कार्यालयमा ११ देखि २ बजेसम्म धर्ना बसेको बताउनुभयो ।

‘ठेकेदार कम्पनीले ज्याला दिन पटक पटक गरेको सहमति र सम्झौता कार्यान्वयन गर्नुको साटो छ महिनासम्म झुलायो,’ उहाले भन्नुभयो ‘काम गरेको ज्याला दिलाउन आयोजना र स्थानीय प्रशासन समेत उदाशिन देखिएकाले बाध्य भएर आन्दोलनमा उत्रिएका हौ ।’

९ जना सब कन्ट्रक्टर मार्फत परिचालित २०५ जना मजदुरलाई युनाइडेट कम्पनीले ज्याला वापत एक करोड १२ लाख ५० हजार ७२ रुपैया भुक्तानी दिन बाकी रहेको उनिहरुले बताएका छन् । रुकुम, जाजरकोट, सल्यान लगायतका जिल्लाबाट आएका मजदुरहरु ज्याला नपाएपछि रित्तै फर्कीएका छन् ।

गउका मजदुरहरुलाई ल्याएर काममा लगाएका सब कन्ट्याक्टरहरु ज्याला दिलाउन नसकेपछि समस्यामा परेका छन् । गत मंसिर देखि असार महिनासम्म काम गरेका मजदुरहरु ज्याला नपाएपछि रित्तो हात घर फर्कीएका थिए । गत साउनमा कार्यालयमा तालाबन्दि गरेपछि १९ लाख रुपैयाँ भुक्तानी दिएको थियो ।

पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा युनाइटेड कम्पनीका सञ्चालक सकुन्तलाल हिराचनले पुष १० गतेसम्म सबै ज्याला भुक्तानी गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कोमबहादुर बुढालाई ३० लाख ४३ हजार ८२२, भदे बुढालाई २५ लाख ३७ हजार ४८९, लोकेन्द्र बुढालाई २७ लाख २० हजार ३९० र लालबहादुर बुढालाई एक लाख ८८ हजार ३०० रुपैया भुक्तानी गर्न बाकी छ ।

मेखबहादुर गर्बुजालाई दश लाख ७२ हजार ३१६, बेदबहादुर थापालाई धरौटी तीन लाख ८८ हजार ६६१ र ज्याला ११ लाख ६७ हजार ५७४, सुनिल थापालाई सात लाख ७५ हजार ६००, सन्चबहादुर तामाङले तीन लाख ८५ हजार र सेतीराम बोहोरालाई आठ लाख ७१ हजार रुपैया भुक्तानी नदिएको उनिहरुले बताएका छन् ।

‘आज दिन्छु, भोली दिन्छु भनेर झुलाएर हैरान बनायो,’ कोमबहादुर बुढाले भन्नुभयो ‘बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो । काम गरेको ज्याला देउ भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखपूर्ण छ । युनाइटेडका ठेकेदारले हामीलाई चौपट बनायो ।’

ज्याला भुक्तानीका लागि पटक–पटक अनुरोध गरिएको र सहमति कार्यान्वयन नगरेपछि आन्दोलनमा जानु परेको जिफन्टका जिल्ला अध्यक्ष बालादेवी राइले बताउनुभयो । मजदुरहरुले ज्याला भुक्तानी नपाएसम्म आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

उनिहरुले बेनी स्थित जिल्ला प्रशासन कार्यालयमा यसअघि ज्याला उपलब्ध गराउन उजुरी गराएका थिए । प्रशासन र प्रहरीसंगको छलफलका क्रममा कम्पनीका प्रतिनिधिले ज्याला उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपनि कार्यान्वयनमा उदाशिनता देखाएका छन् ।

कम्पनीका आयोजना व्यवस्थापक बलराम अर्यालले सडक विभागले गरेको कामको भुक्तानी नदिएकाले समस्या भएको बताउनुभयो । अतिरिक्त कामको मूल्याङ्कन भएर भुक्तानीको प्रक्रियामा रहेकाले सडक बिभाग र आयोजनाले भुक्तानी दिदा वित्तिकै तिर्नपर्ने रकम तिरीहाल्ने उहाँले बताउनुभयो ।

यसै हप्ताभित्र भुक्तानी पाउने प्रक्रियामा रहेकाले केही दिन पर्खन आग्रह गरेपनि आन्दोलनमा उत्रीएको सुन्दा दुख लागेको अर्यालले बताउनुभयो । शर्मा–युनाइटेडको खण्डमा कामको प्रगति समेत सुस्त छ । अपेक्षाकृत गतिमा काम हुन सकेको छैन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले ठेकेदारका प्रतिनिधिलाई मजदुरको ज्याला दिन ताकेता गरिएको बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: