खाद्य र पोषण सुरक्षामा रैथाने बालीको महत्व

बेनी, ८ मंसिर । खाद्य र पोषण सुरक्षामा रैथाने बालीको महत्वपूर्ण भूमिका रहने एक कार्यक्रमका सहभागिले बताएका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा खाद्य र पोषण सुरक्षाका लागि स्थानीय जातका बालिको प्रर्वद्धन, संरक्षण र उपभोगमा जोड दिइएको थियो । केन्द्रले महिला स्वास्थ्य स्वमसेविका, कृषि प्राबिधिक र कृषकहरुलाई रैथाने बालिको महत्वका बारेमा अभिमुखीकरण गरेको छ ।

स्थानीय स्तरमै उपलब्ध हुने, हावापानी अनुकुल, विषादीको प्रयोग गर्नुनपर्ने, लागत कम पर्ने भएकाले स्थानीय बालिका विभिन्न परिकार बनाएर उपभोग गर्दा खाद्य र पोषण सुरक्षाका साथै आर्थिक बचत र स्वास्थ्यलाई लाभ पुग्ने केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले बताउनुभयो ।

खेतबारी बाँझो राखेर आयातित चामल, मैदा, दाल उपभोग गर्ने संस्कार बढीहरेका बेला त्यसलाई न्युनीकरणका लागि स्थानीय बालीको संरक्षण र उपभोगमा जोड दिइएको हो । कोदो, फापर, घैया धान, मकै, उवा, जौ जस्ता रैथाने जातका खाद्यबालि पोषिलो हुने कोइरालाले बताउनुभयो ।

रैथाने बालिबाट म.म., रोटी जस्ता परिकार बनाएर आयआर्जन समेत गर्न सकिने उहाँले बताउनुभयो । पर्यटकीय क्षेत्रमा स्थानीय परिकार तयार पार्ने सिपको विकास गराउनुपर्ने उहाँको भनाई थियो । बजारमा पछिल्लो समय गाउँमा उत्पादित स्थानीय परिकारको माग बढेकाले रैथाने बालिको खेतिको ब्यवसायिक सम्भावना देखिएको छ ।

केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले रैथाने बालिको परिकारमा बिबिधिकरण गर्न सकेमा पोषण तथा खाद्य सुरक्षामा उपयोगी हुने बारेमा जनचेतना अभिवृद्धिसंगै त्यस्ता बालिको खेती गर्ने कृषकहरुलाई अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।

बागबानी विकास अधिकृत भोजबहादुर थापाले लोप हुन लागेका रैथाने बालीको पहिचान, विजवृद्धी, विउ बैङ्क स्थापना र प्रर्दशनी, होटल तथा होमस्टे सञ्चालकलाई परिकार बनाउने तालिम, जैविक विविधता मेला, रैथाने बालीको महत्व बुझाउने, बजारीकरण, कृषि यन्त्र खरिदमा अनुदान दिने कार्यक्रम भएको बताउनुभयो ।

म्याग्दी र मुस्ताङमा रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम सञ्चालन गर्न कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले यस वर्ष ५२ लाख ४० हजार रुपैयाँ बजेट पठाएको छ । कार्यक्रममा ३० जना भन्दा बढी कृषक, प्राबिधिक र स्वमसेविकाहरुको सहभागिता थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: