परिचयपत्र लिएर म्याग्दी बेनी आउने जलजलाबासी होल्डीङ सेन्टर बस्नु नपर्ने

बेनी,। परिचयपत्र साथमा लिएर आएमा पर्वतको जलजला गाउपालिकाबासीहरु म्याग्दी बेनी आउँदा होल्डीङ सेन्टरमा बस्नु नपर्ने भएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) छिमेकी जिल्लामा समुदाय स्तरमा देखिन थालेपछि रोकथामका लागि आवत जावतलाई ब्यवस्थित बनाउन कालीपुल बाहेक अन्य स्थानबाट पैदल तथा सवारी मार्फत हुने प्रवेशलाई पूर्ण रुपमा बन्द गरिएपछि जलजलाका बासिन्दालाई समस्या परेको थियो ।

बुधबार पहिरो दिन नाकामा कडाई गर्दा आएका जनगुनासोपछि म्याग्दीका प्रशासन र सुरक्षा निकायले जलजलाका बासिन्दाले परिचय खुल्ने कागजात अथवा सिफारिसको आधारमा बेनी आउँदा होल्डीङ सेन्टरमा बस्नु नपर्ने ब्यवस्था गरेका हुन् ।

पोखरा, बागलुङ, चितवन, बिरगञ्ज, काठमाडौ लगायत कोरोना समुदायमा फैलिएका जिल्लाबाट आउनेका लागि गरिएको निर्णय जलजला गाउपालिकाका बासिन्दाका लागि लागू नहुने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । वाइट

नाकामा आवत जावतमा कडाई गर्दा देखिएका ब्यवस्थापकीय कमजोरी सुधार गरेर सहज बनाइएको छ । बेजिल्ला भएपनि जलजला गाउपालिकाको वडा न. १, २, ३, ४, ५, ६ र ७ मा पर्ने बाँसखर्क, मल्लाज, लेकफाँट, शालीजा र धाइरीङका बासिन्दा दैनिक उपभोग्य सामानको किनमेल, बैंक वित्तिय कारोबार, औषधी उपचारका लागि म्याग्दीको बेनीमा निर्भर छन् ।

म्याग्दी बेनीमा दूध, तरकारी, फलफुल लगायत कृषि तथा पशुजन्य बस्तुको आयात जलजला गाउपालिकाबाट हुन्छ । जलजलाका बासिन्दा बिरामी पर्दा उपचारका लागि म्याग्दीमा रहेको बेनी अस्पतालमा आउँछन् । म्याग्दीका ब्यापारीको गोदाम पर्वत बेनीमा छन् । पर्वत बेनीका ब्यापारीको बजार म्याग्दीमा पनि छ ।

म्याग्दी बेनीका कार्यालय, सुरक्षा निकाय र स्वास्थ्य संस्थामा काम गर्ने, पसल सञ्चालन गर्नेहरुको डेरा पर्वत बेनीमा छ । आवत जावतमा सहज बनाउन बिहीबार जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्षहरु भिष्म मल्ल, रबी भण्डारी र गोविन्द खत्रीले प्रजिअ अधिकारी र प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरलाई भेटेर अनुरोध गरेका थिए ।

अत्यावश्यक कामको लागि म्याग्दी जिल्ला प्रवेश गर्नुपरेमा बिहान ७ देखि साँझ ७ बजेसम्म कालीपुलबाट अनुमति लिएर मात्र प्रवेश गर्न र म्याग्दी प्रवेश गरेपछि तोकिएको होल्डिंग सेन्टरमा बस्न, फारम भर्न, आवश्यक परामर्श लिई स्थानीय तहको जिम्मेवारीमा होम क्वारेन्टाइनमा बस्न लगाइने जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णयले मल्लाज र वारीबेनी आवत जावत गर्नेहरुलाई सास्ति भएको गुनासो आएको थियो ।

दूध र तरकारी ल्याएर बेनी आउनेहरुका लागि बिहानको समय छिटो खुला गरिदिन जलजलाका प्रशासकीय अधिकृत शर्माले आग्रह गर्नुभयो । म्याग्दीका ४८ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । पोखरा पठाइएका मध्य मंगलबार ४२ वटा र बुधबार ३० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्रबारदेखि म्याग्दीमा सक्रिय कोरोनाका संक्रमितको संख्या शुन्य छ । समुदाय स्तरमा अहिलेसम्म कोरोना भेटिएको छैन् । विदेशबाट आएकालाई क्वारेन्टिनमा राखेर पिसिआर परिक्षण गरेर घर पठाउने ब्यवस्था गरिदै आएको छ । जोखिमयुक्त जिल्लाबाट आउनेलाई पनि क्वारेन्टिनमा राख्न थालिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: