स्वागतमा लुकेको स्वार्थ

सन्तोष गौतम
बेनी, ४ भदौ । घर, समाजमा नयाँ व्यक्तिको आगमन हुँदा स्वागत गर्ने मानब समाजको एउटा सकारात्मक पाटो हो । संसारका जुनसुकै ठाउँमा पाहुनालाई स्वागत गर्ने संस्कार छ । यो संस्कारबाट म्याग्दी जिल्ला पनि अछुतो छैन् । यहाँ पनि जिल्ला, गाउँ, समाज, टोलमा भित्र्ने जो कोहीलाई पनि आत्मिय हिसाबले स्वागत र बिदाई गर्ने चलन छ । तर पछिल्लो समय म्याग्दीमा स्वागतका नाममा स्वार्थ पुर्तिका लागि सम्बन्ध विस्तार गर्ने विकृत सस्कार विकसित हुन थालेकोमा चिन्ता व्यक्त हुन थालेको छ । विशेष गरेर सदरमुकाममा रहेका विभिन्न संघ संस्था र व्यक्तिहरुले प्रशासक र सुरक्षा अधिकारीहरुलाई गर्ने स्वागतभित्र स्वार्थ लुकेको आभास हुन थालेको छ । कतिपय संघ संस्थाहरु प्रशासक र सुरक्षा अधिकारीहरुको स्वागत र बिदाई गर्नकै लागि खोलिएका हुन कि भन्ने प्रश्न समेत उठेको छ ।

पछिल्लो एक हप्ता बेनी बजारमा दैनिक पाँच÷सात वटा बिदाई र स्वागतका कार्यक्रम भैरहेका छन् । सरुवा भएर गएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको बिदाई र नवआगन्तुक प्रजिअ उमाकान्त अधिकारीको स्वागतमा बेनीका कथित “समाजसेवी” हरुलाई भ्याई नभ्याई छ । फैलिदो कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सरकारले मानिसहरु भेला नहुन र औपचारिक कार्यक्रम नगर्न सार्वजनिक अपिल गरेको छ । स्थानीय प्रशासनले पनि सूचना जारी गरेर एउटै घरभित्र भएकाहरु मात्र भेटघाट गरेर चाडपर्व मनाउन भनेको छ । तर त्यही सूचना जारी गर्ने र सरकारले कोरोना रोकथामका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गर्ने अधिकारीलाई सहभागी बनाएर स्वागतका नाममा भिडभाड गर्ने होडबाजी हुनु दुखद छ ।

बेनीमा प्रशासक र सुरक्षा अधिकारीको स्वागत गर्नुका विभिन्न कारण छन् । एकाथरीले स्वच्छ र सामाजिक भावनाले उनिहरुलाई सहयोग गर्न, समस्या, बस्तु अवस्था जानकारी गराउन तथा सम्बन्ध बिस्तारका लागि स्वागत कार्यक्रम आयोजना गर्छन् । जुन स्वभाविक छ । अर्काथरी प्रशासक र सुरक्षाअधिकारीलाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमा राखेर समाजमा आफू ठूलो र पहुँचमा भएको सन्देश दिन खोज्ने छन् । दोस्रो थरी विवादीत पृष्ठभुमि भएका स्वागतधारीले प्रशासक र सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुलाई दवाव र प्रभावमा पारेर गलत फाइदा लिन खोज्ने गरेको देखिन्छ । स्वागत तथा सम्मानका भोगी सुरक्षा अधिकारी र प्रशासकहरुको मनोवृत्तिले पनि यस्ता कार्यक्रमले बढावा पाउन थालेको पाइन्छ । स्वागतका नाममा गरिने होडबाजी, प्रचारबाजी र स्वार्थपुर्तिको चलखेल हटाएर स्वतन्त्र तथा निष्पक्ष हिसाबले कानुन कार्यान्वयन गर्ने वातावरण बनाउन आवश्यक देखिन्छ ।

२०७७ भदौ ४ गतेको रिखार दैनिक प्रकाशित सम्पादकीय

Leave a Reply

Scroll to Top
%d bloggers like this: