म्याग्दीमा किन हुदैन नियमित विद्युत आपुर्ति ?

बेनी, ५ भदौ । म्याग्दीमा नियमित विद्युत आपुर्ति नहुने समस्या बढेको छ ।

मापदण्ड भन्दा लामो दुरिको लाइन, चार वटा जिल्लाका लागि एउटै प्रशारण लाइन हुनु, भौगोलिक विकटता र दरबन्दि अनुसारका जनशक्तिको अभावले पहिरो गएर तथा रुख ढलेर अवरुद्ध लाइन मर्मतमा ढिलाई हुदा नियमित विद्युत आपुर्ति हुन नसकेको हो । छिन–छिनमा विद्युत आपुर्ति बन्द हुदा घरायसी काम देखि सार्वजनिक सेवा प्रवाह र उद्योग ब्यवसायमा असर परेको छ ।

नियमित विद्युत आपुर्ति नहुदा उपभोक्ता हैरान भएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । ‘दैनिक सँयौ पटक विद्युत आपुर्ति बन्द हुन्छ,’ उहाले भन्नुभयो ‘विद्युतको समस्याले उद्योग ब्यवसाय देखि घरायसी कामकाज प्रभावित भएको छ ।’

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटेको घोषणा गरेपनि म्याग्दीमा लागू हुन नसकेको उपभोक्ताहरुको गुनासो छ । ‘कति बेला बिजुली आउँछ, कति बेला जान्छ ? अत्तोपत्तो हुदैन्,’ बेनीका फर्निचर ब्यवसायी कुबिर श्रेष्ठले भन्नुभयो ‘बिजुलीको समस्याले समयमा काम नहुने र लागत बढेको छ ।’

बिद्युतको ब्यवस्थापनका लागि विकल्पमा जेनेरेटर खरिद गर्नुपरेको एबि बेकरी उद्योगका सञ्चालक बिपिन बानियाले बताउनुभयो । ग्रामिण क्षेत्रमा महिनौ सम्म विद्युत आपुर्ति नहुने समस्या छ । लामो दुरिको वितरण लाइन, दरबन्दि अनुसार कर्मचारीको अभाव, भौगोलिक बिकटताका कारण नियमित विद्युत आपुर्ति गराउन नसकेको प्राधिकरणको म्याग्दी वितरण केन्द्रले जनाएको छ ।

केन्द्र अन्तरगत पर्वतको मल्लाज सहित म्याग्दीमा करिब १७ हजार घरधुरी उपभोक्ता छन् । मोदी सबस्टेशनबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि मिलनचोक सम्म ३३ केभी र मिलनचोक देखि रत्नेचौर, बेनी र घराप गरि तीन वटा ११ केभीको लाइन छन् ।

मिलनचोक देखि ११ केभी वितरण लाइनको दुरि मापदण्ड भन्दा तेब्बर बढी भएकाले कुनै एक ठाउँमा समस्या आउँदा सबै ठाउँमा विद्युत आपुर्ति बन्द हुने समस्या रहेको केन्द्रका प्रमुख माधव महतले बताउनुभयो ।

‘मापदण्ड अनुसार ११ केभी लाइनको दुरि २० किलोमिटर हो । यहाँ ८० किलोमिटर सम्म ११ केभी लाइन छ,’ उहाले भन्नुभयो ‘लामो दुरिको लाइनमा कुनै एक ठाउँमा समस्या आउँदा त्यस अन्तरगतका सबै क्षेत्रमा विद्युत आपुर्ति बन्द हुन्छ ।’

भौगोलिक विकटता र दरबन्दि अनुसारका प्राबिधिक जनशक्ति नहुँदा समस्या पहिचान गरि मर्मतमा ढिलाई हुने गरेको महत बताउनुहुन्छ । बर्खायाममा पहिरो र रुख लडेर विद्युतको मुख्य तथा वितरण लाइनमा क्षति पुगेर विद्युत आपुर्ति बन्द हुने क्रम बढेको छ । लाइनको छेउछाउमा रुख र झाडी सरसफाई नहुँदा विद्युतीय दुर्घटनाको जोखिम बढेको छ ।

विद्युत आपुर्ति अनियमित हुने समस्या हटाउन सबस्टेशन थप गरेर ११ के.भीको फिडर टुक्राएर छोट्याउने, दरवाङको रातोढुङ्गामा निर्माणाधिन ३३÷११ के.भी.को सबस्टेशनलाई छिटो सम्पन्न गराउनुपर्ने महतको भनाई छ ।

दानामा निर्माणाधिन २२० केभीको सबस्टेशनमा ३३÷११ के.भी.को ट्रान्सफर्मर थपेर ११ के.भी.को फिडर बनाउनुपर्ने, खुर्कोट सबस्टेशनबाट म्याग्दी, पर्वत, बागलुङका लागि ३३ के.भी.को फरक फरक फिडर बनाएमा सहज हुने महतले बताउनुभयो ।

रातोढुङ्गा सबस्टेशन अलपत्र

म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत आपुर्तिलाई सहज बनाउन निर्माणाधिन ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन अलपत्र परेको छ ।
मालिका गाउपालिका–६ रातोढुङ्गामा दुई वर्षअघिनै सम्पन्न हुनुपर्ने सबस्टेशनको आधा मात्रै काम सकिएको छ । ए टु जेड इञ्जिनियरिङले करिब आठ करोड रुपैयाँमा ठेक्का लिएको सबस्टेशनमा लकडाउन भएयता काम भएको छैन् ।
लक्ष्य अनुसार सन २०१८ को डिसेम्बरमै मिलनचोक देखि रातोढुङ्गासम्म २२ किलोमिटर प्रशारण लाइन र सबस्टेशन बनिसक्नुपर्ने हो । सबस्टेशन निर्माणका लागि छनौट भएको जग्गा अधिग्रहण तथा प्रशारण लाइनको पोल रहने जग्गाको समस्याले ढिलाई भएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।
‘पोल गाड्ने र सबस्टेशनका दुई मध्य एक वटा भवन बनिसकेको छ । उपकरण खरिद भैसकेको छ,’ उहाले भन्नुभयो ‘लकडाउन नभएको भए रातोढुङ्गा सबस्टेशन करिब सकिन्थ्यो । घर गएका मजदुरलाई काममा फर्काउन पहल गरिएको छ ।’
सबस्टेशन निर्माण गर्न नेपाल विद्युत प्राधिकरणले पाँच वर्ष अघि रातोढुङगामा सात रोपनी जग्गा अधिग्रहण गरेको थियो । सबस्टेशन र प्रशारण लाईन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालीका र मंगला गाउँपालीकामा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवा विस्तारमा सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: