म्याग्दीका पहिरो पिडितलाई प्रदेश सरकारले राहत पठायो

म्याग्दी, १७ साउन । म्याग्दीका पहिरो पिडितलाई गण्डकी प्रदेश सरकारले राहत सामग्री पठाएको छ । असार २६ गतेको पहिरोले घरबास गुमाएकालाई शनिबार नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्यान्न, पाइप र त्रिपाल पठाएको हो ।

धवलागिरी–६ राम्चे, आरबाङ, मालिका–बाइन्दफाँट र अन्नपूर्ण–४ नारच्याङमा राहत सामग्री पु¥याइएको गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले बताउनुभयो । सडक र घोरेटोबाटो नभएकाले गाडी, खच्चर र भरिया मार्फत सम्भब नभएपछि प्रदेश सरकारले सेनाको हेलिकप्टर भाडामा लिएर राहत सामग्री ढुवानी गरेको हो । खराब मौसमका कारण तेस्रो दिनको प्रयासमा शनिबार सामान पठाइएको हो ।

राम्चेमा २५ केजी तौलको ७३ बोरा चामल, ४ प्याक खानेतेल, ५० केजी नुन, ३ क्वाइल पाइप र ३ वटा शौचालय बनाउने सामग्री लगिएको छ । आरवाङमा ७२ बोरा चामल, ५ प्याक खानेतेल, १०० केजी नुन, ४ क्वायल पाइप र ३ वटा शौचालय बनाउने सामग्री पठाइएको छ ।
बाइन्दफाँटमा ८३ बोरा चामल, ७ प्याक खानेतेल, १०० केजी नुन र २० थान त्रिपाल पठाइएको छ । साउन ५ र ६ गतेको बाढी र पहिरोबाट पिडित अन्नपूर्ण–३ काभे, ४ कोप्चेपानीका बासिन्दालाई ६२ बोरा चामल, ४ प्याक तेल, ८० केजी नुन र ६५ प्याक चाउचाउ पठाइएको छ ।

अन्नपूर्ण गाउपालिकाका पहिरो पिडितलाई राहत सामग्री लिएर गएको हेलिकप्टर गाडपारमा अवतरण हुन नसकेपछि नारच्याङमा सामान झारेर फर्किएको थियो । सामान ढुवानी गर्न गएको हेलिकप्टरले बाटो नभएर अस्पताल आउन नसकेका बिरामी र गर्भवतिलाई उद्धार गरेर बेनी ल्याएको छ । साउन १० गते भिरबाट लडेर घाइते भएकी दानाकी ४५ वर्षीया डिलकुमारी बरुवाल र आरबाङकी गर्भवति अपेक्षा जुग्जालीलाई हेलिकप्टर मार्फत बेनी ल्याइएको हो ।

म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित सामाजिक विकास मन्त्री नरदेवी पुन र सांसद केसीको पहलमा प्रदेश सरकारले सामग्री खरिद र ढुवानीको ब्यवस्था गर्नुभएको हो । बेनीमा हेलिकप्टरमा सामान सेना, प्रहरीलाई चढाउन नेकपाका नेता, कार्यकर्ताले सहयोग गरेका थिए ।

यातायात सुबिधा नभएकाले हेलिकप्टर र अनुकुल मौसम कुर्दा सामान पठाउन ढिलाई भएको हो । ढुवानी गरेर सम्बन्धित वडाका जनप्रतिनिधिको जिम्मा लगाइएको राहत सामग्री आवश्यकता अनुसार वडाका जनप्रतिनिधिले वितरण गर्ने सामग्री ढुवानीमा समन्वय गर्नुभएका नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

म्याग्दीको धवलागिरी–६ मराङका १९, मालिका–७ बिमका ८, रघुगंगा–६ का ३ र अन्नपूर्ण–३ का १ जनाको पहिरो र बाढीले बगाएर मृत्यु भएको छ । मराङका २, बिम, मालिका–६ दुखु र अन्नपूर्ण–३ काभ्रेका १÷१ जना वेपत्ता छन् ।

मराङमा २३ घर पहिरोले बगाएको र २२६ घर जोखिममा रहेका छन् । बिममा पहिरोले बगाएर, भत्काएर र पुरिएर ३५ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ । ५० घर उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन् ।

अन्नपूर्ण गाउपालिकाका अनुसार काभ्रेका २२, तितरका ३, दुवारीमा २ परिवार विस्थापित भएका छन् । नारच्याङको कोप्चेपानीमा ३, गाडपारमा ५, घरापमा ४, वडा न. ६ को हल्लेखर्कमा १, धिरच्याङमा १, शिखमा ५, भुरुङ्ग तातोपानीमा १४ परिवार विस्थापित र दोवाका १० घर जोखिममा छन् ।

पहिरोले सडक, झोलुङ्गे पुल, पैदलमार्ग बगाएकाले पहिरो प्रभावित बस्ति यातायात सम्पर्कबाट बिच्छेद भएका छन् । पैदलयात्रा गर्न पनि धेरै जोखिम छ । पहिरोमा घरबास गुमाएकाहरुलाई विद्यालय, टहरा र सामुदायिक भवनमा राखिएको छ ।

आवत जावतलाई सहज, राहत सामग्री ढुवानी र पहिरो पिडितको ब्यवस्थापनका लागि सडक तथा घोरेटोबाटो मर्मतको पहल गरिएको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो । यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्री पुन, भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत र आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पहिरो प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको थियो ।

तत्कालीन रुपमा खाद्यान्न राहत उपलब्ध गराएको प्रदेश सरकारले पहिरो पिडितको दिर्घकालिन ब्यवस्थापनका लागि योजना बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: