बेनी–दरवाङ सडक खुल्यो, बेनी–मालढुङ्गा सडक अवरुद्ध

बेनी, ८ साउन । बेनी नगरपालिका र मंगला गाउपालिकाको सिमानामा पर्ने फापरखेतमा पहिरोका कारण अवरुद्ध म्याग्दीको बेनी–दरवाङ सडक छ दिनपछि सूचारु भएको छ ।

गत शुक्रबार रातिको पहिरोले सडक बगाएपछि २४ किलोमिटर दुरिको पश्चिम म्याग्दीको धवलागिरी, मालिका र मंगला गाउपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सो सडकमा सिधा आवत जावत बन्द भएको थियो ।

प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीका जनशक्ति तथा पुर्वाधार विकास कार्यालय मार्फत सञ्चालित बेनी–दरवाङ सडक आयोजना, तातोपानी–पखेर मोटरेबल पुल योजनाको ठेकेदार कम्पनीको डोजर परिचालन गरेर सडक खुलाइएको हो ।

पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्याक खनेर सडक मर्मत गरेपछि बिहीबार बिहानदेखि सूचारु भएको डिएसपी किरनजंग कुँवरले बताए ।

सडक अवरुद्ध हुँदा आवत जावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको थियो ।

गत असार २५ गतेको पहिरोबाट अतिप्रभावित मालिका गाउपालिकाको दरवाङ हुदै बिम र धवलागिरीको मराङ जोड्ने सडक मर्मतको काम भैरहेको छ । दरवाङ–धारापानी–ताकम सडक मर्मत गरेर सूचारु गराइएको छ ।

पहिरोबाट अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिले मालिका र धवलागिरी गाउपालिकालाई पहिलो चरणमा तीस÷तीस लाख रुपैयाँ उपलब्ध गराएको जिसस प्रमुख देवेन्द्र केसीले बताए ।

पहिरो पिडितको राहत र ब्यवस्थापनका लागि सडक खुलाउन प्राथमिकता दिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । सडक अवरुद्ध हुँदा हेलिकप्टर मार्फत पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गरिएको छ ।

पहिरोका कारण मराङ, बिम, ठाडाखानीमा २८ जनाको ज्यान गएको छ । तीन जना वेपत्ता छन् । करिब एक हजार जनसंख्या विस्थापित भएका छन् ।

यसैगरी म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक लामाखेत, केराबारी र नयाँपुलमा पहिरो खसेपछि अवरुद्ध भएको छ । केराबारीमा पहिरोका कारण करिब दश घर जोखिममा परेर विस्थापित भएका स्थानीय खेम केसीले बताउनुभयो । पहिरोले पुल र सडक बगाएकाले बेनी–जोमसोम सडक पनि असार २५ गतेदेखि अवरुद्ध छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: