रोजगारी सिर्जनामा मालिकाको जोड

बेनी, १३ असार । म्याग्दीको मालिका गाउपालिकाले बेरोजगारलाई सिप सिकाएर रोजगार बनाउने योजना अघि सारेको छ ।

कोरोना (भाइरस)को जोखिमका कारण सहर तथा विदेशबाट गाउँमा फर्किएकाहरुलाई सिप सिकाएर स्थानीय स्रोतमा आधारित उद्यम ब्यवसाय, कृषि, पशुपालन ब्यवसायमा आकर्षित गराउने र विकास आयोजनामा परिचालन गरेर रोजगारी सिर्जना गर्न लागेको हो ।

“मालिकामा नै कमाउँ, मालिकामा नै रमाउँ” भन्ने नारा सहित रोजगारी सिर्जनामा जोड दिएर बजेट ल्याएको गाउपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । ८०० जना उद्यमी उत्पादन गर्ने लक्ष्य सहित लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्न चालीस लाख रुपैया बिनियोजन गरेको छ ।

घर, भवन, सडक, नदी तथा पहिरो नियन्त्रण जस्ता पूर्वाधार क्षेत्र र स्थानीय स्रोतमा आधारित उद्योगमा आवश्यक जनशक्ति तयार पार्न सिपमुलक तालिम सञ्चालन गर्नुका साथै कृषि, पशुपालन र जडिवुटी खेतिमा अनुदानको कार्यक्रम ल्याएको छ ।

खाद्य र भूमी बैंक स्थापना गर्न दश लाख, कृषि ब्यवसाय गर्नेलाई अनुदानका लागि नौ लाख पचास हजार, कृषि तथा पशु सम्बन्धी कार्यक्रमका लागि ६६ लाख ४७ हजार रुपैयाँ बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ४१ करोड ५४ लाख १० हजार ९४९ रुपैयाँको बजेट ल्याएको मालिकाले रोजगारिसँगै पूर्वाधार, कोरोना रोकथाम, विपद् ब्यवस्थापन, कृषि क्षेत्रलाई प्राथमिकता दिएको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

तोकिएकै काममा खर्च गर्ने गरि शसर्त शिर्षकमा आएको १६ करोड ३ लाख बाहेक वित्तिय समानिकरण शिर्षकमा आएको मध्य चालु तर्फ पाँच करोड ५० लाख र पुजिगततर्फ १३ करोड ६५ लाख पाँच हजार ९४९ रुपैयाँ बिनियोजन गरेको छ । संघीय, प्रदेश सरकारको अनुदान र चालु वर्षमा खर्च हुन नसक्ने बोहक पचास लाख रुपैयाँ आन्तरिक आम्दानीलाई बजेटको स्रोत मानेको छ ।

गाउपालिकाको केन्द्र दरवाङ बजारदेखि ७ वटा वडा कार्यालय सहित मुख्य बस्ति जोड्ने सडक निर्माण, मर्मत र स्तरोन्नतीका लागि तीन करोड १५ लाख र अन्य शाखा सडकलाई ६७ लाख ६३ हजार रुपैया छुट्टाएको छ । सडक आयोजनाको कुल लागतको तीन प्रतिशत बजेट मर्मत सम्भार कोषमा राख्ने ब्यवस्था गरेको छ ।

साझेदारीमा सञ्चालन गरिने योजनाहरुका लागि समपुरक कोषमा दुई करोड ५० लाख रुपैयाँ राखेको छ । कोरोना नियन्त्रण, पहिरो, भू–क्षय, नदी नियन्त्रण, उद्धार, राहत र ब्यवस्थापनका लागि विपद् ब्यवस्थापन क्षेत्रमा एक करोड ७६ लाख १३ हजार बिनियोजन गरेको छ ।
दरवाङमा बसपार्क निर्माणको अध्ययन र दुखुखोलामा प्रवेशद्धारा बनाउन दश लाख, सिचाईलाई १५ लाख, खानेपानी आयोजनाहरुका लागि.३९ लाख २८ हजार र ढल ब्यवस्थापनका कार्यक्रमलाई २० लाख ४८ हजार बिनियोजन गरेको छ ।

ठूला तथा नयाँ प्रबिधिका सिचाई आयोजना, वडा कार्यालय भवन बनाउन संघ र प्रदेश सरकारसँग पहल गर्ने नीति सहित युवा क्लव, आमा समूह, विद्यालयको भवन निर्माण तथा मर्मतका लागि ५४ लाख ७८ हजार बिनियोजन गरेको छ ।

सामाजिक विकास, शिक्षा, स्वास्थ्य, सरसफाई, सांस्कृतिक प्रवर्धन, स्कुल घेराबन्दी, मन्दिर घेरवार, ग्राउण्ड निर्माण र धेरवार, विद्यालयमा चर्पी निर्माण, कोट व्यवस्थापन, पर्यटन र संस्कृति प्रवर्धन गर्नका लागि एकमुस्ट रु २७ लाख ८४ हजार बजेट विनियोजन भएको छ ।
शिक्षक अनुदानका लागि पचसा लाख, किसानी प्राबिधिक शिक्षालयका विद्यार्थीलाई छात्रवृत्ति सहितका कार्यक्रमका लागि दश लाख, स्वास्थ्य संस्थामा प्रसुति हुनेलाई निशूल्क एम्बुलेन्स, सरसफाई, योग शिक्षा, पोषण सुधारका कार्यक्रमलाई दश लाख बिनियोजन भएको छ ।
आवधिक योजना निर्माण र सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको मालिकाले धार्मिक, पर्यटकीय स्थलको पुर्वाधार निर्माण गर्न दुई वर्ष शिर्षकमा ६३ लाख ७० हजार बिनियोजन गरेको छ । “खेलकुद विकासमा समयदान, प्रत्येक वडामा खेलमैदान” भन्ने नारा लिएको मालिकाले खेल क्षेत्रमा बीस लाख बिनियोजन गरेको छ ।
सात वटै वडामा लैङ्गिक र जातीय हिंसा न्युनीकरणका कार्यक्रम सञ्चालन गर्ने, पत्रकारलाई पुरस्कृत गर्ने, नदीहरुमा जलविद्युत आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने जस्ता नीति सार्वजनिक गरेको छ ।
चालु आर्थिक बर्ष २०७६÷०७७ मा ३९ करोड ८४ लाख ८४ हजार रुपैया विनियोजन गरेको मालिकाले चालु र पूँजीगत तर्फ ४७.७३ प्रतिशत खर्च गरेको गाउसभामा जानकारी गराइएको थियो । चालु तर्फ १३ करोड ६४ लाख २२ हजार ३९५ र पुजिगततर्फ छ करोड ४० लाख ८४ हजार ४५० रुपैयाँ खर्च भएको छ ।
प्रशासनिक तथा प्राबिधिक जनशक्तिको अभाव र कोरोनाको जोखिम तथा जारी लकडाउनका कारण यस वर्ष बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले बताउनुभयो ।
जनशक्तिको ब्यवस्थापन भएकाले आगामी वर्षको योजना तथा कार्यक्रम कार्यान्वयनमा सहज हुने उहाँको भनाई छ । फैलिदो कोरोना भाइरसको जोखिम र जारी लकडाउन मुख्य चुनौति देखिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: