नुहाउने क्रममा नदिमा वेपत्ता भएका क्वारेन्टिनमा बसेका युवाको शव भेटियो

बेनी, २५ जेठ । नुहाउने क्रममा म्याग्दी नदीमा वेपत्ता भएका युवाको ६ दिनपछि शव फेला परेको छ ।

मालिका गाउपालिका–६ दरवाङको छ्यारछ्यारे स्थित क्वारेन्टिनमा बसेका धवलागिरी गाउपालिका–७ धारापानीका १९ वर्षीय राजेश थापा जेठ २० गते वेपत्ता भएका थिए ।

थापाको शव आइतबार दरवाङ्कै बाङ्गेपहिरो स्थित म्याग्दी नदी किनारमा फेला परेको मालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

स्थानीयबासीले धारामा नुहाउन नदिएपछि म्याग्दी नदीमा नुहाउन गएका थापा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । भारतबाट आएर बेनीको क्वारेन्टिनमा बसेका उनको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि दरवाङ सारिएको थियो ।

थापाको शव परिक्षणका लागि बेनी स्थित अस्पतालमा ल्याउने तयारी भएको छ । उनको खोजीमा शसस्त्र प्रहरीको गोटाखोरको टोली समेत ल्याएपनि सफल भएका थिएनन् ।

थापा छ महिनाअघि रोजगारीको खोजीमा भारत गएका थिए । कोरोनाको जोखिम र लकडाउनका कारण रोजीरोटी गुमेपछि भारतीय सिमानामा आएका उनलाई उद्धार गरेर बेनी ल्याइएको छ ।

क्वारेन्टिन स्थापना भएको जनप्रिय माविको भवनमा घेराबार छैन् । आफन्तहरुले भने कमजोर सुरक्षा र व्यवस्थापकीय लापरबाहीका कारण उनको ज्यान गएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहितका सुरक्षा अधिकारीहरुले छ्यारछ्यारेको क्वारेन्टिनलाई २० गतेनै दरवाङको उपल्लो बजारमा रहेका जनप्रिय माविको भवनमा सारेका थिए ।

हालसम्म म्याग्दीका १७९ जनाको स्वाब संकलन गरि पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न पोखरा स्थित प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतबाट आएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको बेनी स्थित आइसोलेशनमा उपचार भैरहेको छ । २१ जनाको रिपोर्ट आउन बाँकी छ । १५६ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: