म्याग्दीमा डेङ्गु सार्ने लामखुट्टेको सर्वेक्षण

बेनी, २५ जेठ । म्याग्दीमा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान पहिचान गर्न सर्वेक्षण गरिएको छ । स्वास्थ्य कार्यालय, म्याग्दीले डेङगुका बिरामी भेटिएका बस्तिमा लामखुट्टेको सर्वेक्षण गरेको हो ।

बेनी, बाबियाचौर, छाप, टिकावाङ, छिसवाङ र घतानमा तीन दिन लगाएर सर्वेक्षण गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङका भेक्टर कन्ट्रोल अफिसर याम बराल, कार्यालय प्रमुख लम्साल, धु्रब पुरि, सोमनाथ अधिकारी लगायतका स्वास्थ्यकर्मीको टोली सर्वेक्षणमा खटिनुभएको थियो । सर्वेक्षणका क्रममा बेनी, बाबियाचौर र छापमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टे भेटिएको छ ।

डेङ्गुका बिरामी भेटिएपनि टिकावाङ, छिसवाङ र घतानमा एडिस जातको लामखुट्टे भेटिएन् । त्यहाँका बिरामीलाई अन्य ठाउँको लामखुट्टेले डेङ्गु सारेको अफिसर बरालले बताउनुभयो । सर्वेक्षणका क्रममा जापानिज इन्सेफलाइटिस र हाक्तिपाइले रोग सार्ने क्युलेस जातको लामखुट्टे पनि भेटिएको छ ।

क्युलेस लामखुट्ट फोहोर र एडिस लामखुट्टे सफा पानीमा फुल पार्ने गर्छ । बिरामीको घरको १०० मिटर वरपरको ठाउँमा लामखुट्टे खोजेर नियन्त्रणमा लिई सर्वेक्षण गरिएको थियो ।

डेङ्ग, जापानिज इन्सेफलाइटिस, हात्तिपाइले लगायत रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न घर, टोल र बस्तिमा तिनका बासस्थान नष्ट गर्न सरसफाई गर्न स्थानीयलाई सुझाव दिएका छन् ।

म्याग्दीमा बैशाख र जेठ महिनामा १० जना डेङ्गुका बिरामी भेटिएका छन् । गत वर्ष १३ जना डेङ्गु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परिक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो ।

बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट वर्षेनी पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ । नेपालमा गत वर्ष केही डेङ्गु संक्रमितको ज्यान समेत गएको थियो । ५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् ।

टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । बर्खा सुरु नहुदै दैनिकजसो डेङ्गुका बिरामी आउन थालेपछि स्वास्थ्य कार्यालय र स्थानीय तह मार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: