बेनीको क्वारेन्टिनमा योग प्रशिक्षण

बेनी, २३ जेठ । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुलाई बेनीमा योग प्रशिक्षण सञ्चालन गरिएको छ । बेनीको न्यु वेष्ट पोइन्ट र म्याग्दी बहुमुखी क्याम्पसमा बसेकाहरुलाई योग प्रशिक्षण दिन थालिएको हो ।

बेनी नगरपालिका र नविन आनन्द योग केन्द्रले दैनिक एक÷एक घण्टाका दरले योग सिकाएका छन् । मानसिक तनावबाट मुक्ती र शारिरिक स्फुर्तिका लागि योग सिकाउन थालिएको नविन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो ।

‘योगले मानिसलाई स्वस्थ बनाउनुका साथै रोगसँग लड्ने क्षमता समेत बढाउछ,’ उहाले भन्नुभयो ‘क्वारेन्टिनमा बसेकाहरुलाई आत्मबल बढाउन, निराशा र आलस्यता हटाउन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।’

नविन जुग्जालीले योग सिकाउने गरेका छन् । सामाजिक दुरि कायम गरेर योग सिकाइएको छ । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रसंगको समन्वयमा योग प्रशिक्षण चलाइएको हो ।

नाचगान गराउनुका साथै बिभिन्न बिधाका योग गर्न सिकाउने गरिएको छ । स्वस्थ खानपान र जिवनशैली अपनाउन आग्रह गरिएको छ । बेनीका क्वारेन्टिनमा भारतबाट आएका १३० जनालाई राखिएको छ ।

उनिहरुलाई म्याग्दी पुस्तकालयले अध्ययनका लागि पुस्तकहरु उपलब्ध गराएको छ । कोरोनाको जोखिम र लकडाउनका कारण भारतमा रोजीरोटी गुमेर सिमानामा आएकाहरुलाई स्थानीय तहहरुले गाडीको व्यवस्था गरेर बेनी ल्याउने क्रम जारी छ ।

कोरोना संक्रमण पुष्टि भएका दुई जनाको खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रमा स्थापित आइसोलेशनमा राखेर उपचार गरिएको छ । कोरोना संक्रमितको उपचारमा आयुर्वेदिक औषधि प्रयोग गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मधुकरजी ढकालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: