बाख्राको नश्ल सुधार गर्न बोयर जातका बोका वितरण

पोखरेबगर, २२ जेठ । बाख्राको नश्ल सुधार गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई विहीबार वोयर जातको बोका वितरण गरेको छ ।

पोखरेबगरमा अध्यक्ष डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका वितरण गर्नुभएको थियो । आर्थिक वर्ष २०७६÷७७ को अनुदान कार्यक्रम अन्तर्गत तीन लाख ६० हजार रुपैयाँमा बोका खरिद गरी वितरण गरिएको हो ।

वडा समितिले निर्णय गरी छनोट गरे अनुसार गाउँपालिका र घरेलुमा दर्ता गरिएका बाख्राफार्महरुलाई अघिल्लो वर्षको नदोहोरिने गरी बोका वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल व्यवसायिक रुपमा बाख्रा पालेका कृषकलाई आफ्ना बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउनका लागि निशूल्क बोका वितरण गरिएको हो ।

निशूल्क बोका पाउनेहरुमा वडा नं १ का बेगबहादुर पुर्जा, २ का कमल पुर्जा, वडा नं ३ का नगेन्द्र पुर्जा, ४ का तुलाराम बूढा, ५ का जसबहादुर तिलिजा, ६ का टेकबहादुर बरुवाल, ७ का बालकुमार पुर्जा र वडा नं ८ का हेमन्त तिलिजा रहनुभएको पशु सेवा शाखाका संयोजक प्रकाश घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका व्यवसायिक बाख्रा पालनको दृष्टिकोणले अत्यन्त सम्भावना युक्त क्षेत्र भएकोले किसानको आयस्रोत वृद्धिका लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष पुनले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: