पाखापानीका वडा अध्यक्ष धरौटीमा छुटे

बेनी, ३० वैशाख ः हात हतियार तथा खरखजना सम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत म्याग्दीका न्यायाधिश माधवेन्द्रराज रेग्मीको मंगलबारको इजलासले शेरपुजालाई धरौटीमा छोड्न आदेश गर्नुभएको थियो । २०७६ चैत ३० गते शेरपुजाको घरमा खानतलासी गर्दा प्रहरीले एक थान बारबोरको गोली बरामद गरेको थियो । सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफुसंग गोली रहेको स्टाटस राखेपछि प्रहरीले घर खानतलासी गरेको थियो ।

हातहतियार राख्ने अनुमति नलिएका शेरपुजाको साथमा रहेको गोली अबैध भएको पुष्टि भएपछि प्रहरीले हात हतियार तथा खरखजना मुद्दा चलाएको थियो । अदालतको आदेश अनुसार शेरपुजा रु. दुई लाख पचास हजार धरौटी बुझाएर छुटेका म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले बताउनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालयले शेरपुजा विरुद्ध सात वर्ष कैद र रु. सत्तरी हजार जरिवानाको माग दावी गरेको थियो । शेरपुजा वैशाख २१ गते आफू सम्बद्ध नेपाली काँग्रेस पार्टीका नेताहरुको रोहबरमा अनुसन्धानलाई सघाउन र कानुनी रुपमा आरोपको प्रतिबाद गर्न प्रहरी कार्यालयमा उपस्थित हुनुभएको थियो ।

शेरपुजा २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बन्नुभएको थियो । स्थानीय चुनाव अघि नेपाली काँग्रेसमा प्रवेश गरेका शेरपुजा काँग्रेसको रघुगंगा पालिका कार्यसमितिको सचिव समेत हुनुहुन्छ ।

वि.स. २०७० को दोस्रो संबिधानसभा निर्वाचनमा उनि मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध हुनुहुन्थ्यो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: