बेनीमा म्याद नाघेका बस्तु छ्याप छ्याप्ति

बेनी, ३१ वैशाख । बेनी बजारका पसलमा म्याद नाघेका खाद्यबस्तु र पेय पदार्थ छ्याप छ्याप्ति भेटिएका छन् ।

बजार अनुगमनलाई आक्रामक बनाएको स्थानीय प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले दैनिक जसो ठूलो परिणाममा म्याद नाघेका बस्तु बरामद र नष्ट गरेका छन् ।

उद्देश्य विपरित सञ्चालित दुई वटा पसललाई बन्द गराएको अनुगमन टोलीले सचेत बनाउदा समेत ब्यवसायीले लापरबाही गर्न छाडेका छैनन् ।

मंगलबार बेनी बजारको क्याम्पसचोक, शिक्षामार्ग र अस्पताल चोकका १५ वटा पसल अनुगमन गर्दा छ बोरा म्याद नाघेका सामान बरामद भएको छ ।

अस्पताल गेट अगाडीको बिजय र धु्रबतारा स्टोर्सबाट मात्रै चार बोरा म्याद नाघेका खाद्यबस्तु बरामद भएको अनुगमन टोलीले जनाएको छ ।

बरामद गरिएका सामानहरुमा पेय पदार्थ र खाद्य पदार्थ धेरै छन् । ती सामानहरु अनुगमन टोलीले नष्ट गरेको छ ।

लकडाउनको समयमा बजारमा बेतिथि बढेको जनगुनासोसंगै म्याग्दीमा सघन र आक्रामक रुपमा बजार अनुगमनलाई निरन्तरता दिएका छन् ।

उद्देश्य विपरित सञ्चालन भएका न्युरोडको करुणा खाद्यान्न र क्याम्पसचोकको झिंखानी मासु पसल बन्द गराइएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन, बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ र म्याग्दी उद्योग वाणिज्य संघका प्रतिनिधिले बजार अनुगमनलाई निरन्तरता दिएका छन् ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी हुन सक्ने भएकाले बजार अनुगमनलाई सघन रुपमा निरन्तरता दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: