बेनीमा बजार अनुगमन आक्रामक, दुई पसल बन्द गरायो

बेनी, २९ वैशाख । लकडाउनको समयमा बजारमा बेतिथि बढेको जनगुनासोसंगै म्याग्दीमा बजार अनुगमन सघन र आक्रामक बनाइएको छ ।

यसअघि सचेत बनाउने हिसाबले गरिएको बजार अनुगमनका क्रममा सोमबार बेनीमा दुई वटा पसल बन्द गराइएको छ । दर्ताको उद्देश्य विपरित सञ्चालित दुई वटा पसल बन्द गराएको बजार अनुगमन टोलीले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीका अनुसार न्युरोडको करुणा खाद्यान्न र क्याम्पसचोकको झिंखानी मासु पसल बन्द गराइएको हो । करुणा खाद्यान्न पसलका सञ्चालकले खाद्यान्न सामग्रीको उद्देश्य राखेर दर्ता गरेको पसलमा पुजा र शृङगारका सामग्री बिक्री गरेको पाइएको थियो ।

झिङखानी मासु पसलका सञ्चालकले मासु पसल भनेर दर्ता गरेकोमा एकै ठाउँमा खाद्यान्न सामग्री पनि बिक्री गरेको पाइएको थियो । उद्देश्य विपरित पसल सञ्चालन गरेकाले बन्द गराइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

बन्द गराइएका पसलका सञ्चालकलाई उद्देश्य अनुसार सञ्चालन गर्न अथवा उद्देश्य थप र मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ । निर्देशन पालना गरेपछि मात्र पसल खुलाउन पाउने भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा बेनीको हुलाकचोकदेखि क्याम्पसचोक सम्मका २५ वटा खाद्यान्न पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, प्रहरी निरिक्षक डाक्टर चौधरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायतको सहभागिता थियो ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्य बस्तु बरामद गरेर नष्ट गरिएको छ । यसअघि नमुनाको रुपमा थोरै संख्यामा पसलहरुको अनुगमन हुने गरेको थियो । सोमबार भने सबै पसलहरुको क्रमश अनुगमन गरिएको थियो ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी हुन सक्ने भएकाले स्थानीय प्रशासन र सम्बद्ध कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: