कोरोनाको त्रास भन्दा मासुको मोह….

बेनी, १८ चैत । म्याग्दीको बेनी नगरपालिका–९ ढोडेपानी स्थित ढल्केढुङ्गाको वनमा लकडाउनको उल्लङ्घन गर्दै रागो काट्ने पाँच जनालाई मंगलबार पक्राउ र जरिवाना गरिएको छ ।

कोशेपानीका ३२ वर्षीय बिरबहादुर किसान, २५ वर्षीय धनबहादुर किसान, ५५ वर्षीय वुद्धीबिर किसान, १८ वर्षीय सन्दिप मिजार र ६५ वर्षीय शेरबहादुर किसानलाई प्रहरी र स्वमसेवकको टोलीले रागो काट्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । करिब १५÷२० जना भेला भएर मासुका लागि रागो काट्दै गरेको सूचना पाएपछि प्रहरी टोली पुग्दा भागाभाग चलेको थियो ।

निषेधाज्ञा विरुद्धका कार्य गरेकाले संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम सरकारले गरेको आदेशको अपहेलना कसूरमा सोही ऐनको दफा ३ उपदफा १ बमोजिम जिल्ला प्रशासन कार्यालयले जनही एक सय रुपैयाका दरले जरिवाना तिराएर छाडीएको डिएसपी किरनजंग कुवरले जानकारी दिनुभयो ।

यसअघि अत्यावश्यक सामान ढुवानीको बाहनामा मदिरा ओसारपसार गर्ने बेनी–८ का १९ वर्षीय सुनिलकुमार शाह र जलजला–३ का १८ वर्षीय असल परियारलाई गाडी र छ कार्टुन मदिरा सहित पक्राउ गरि जनही एक सय रुपैया जरिवाना तिराइएको थियो ।

यसैगरी लकडाउन उल्लङघन गर्दै मंगला गाउपालिकाको झाँक्रेपानी देखि ताराखोला गाउपालिका जोड्ने सडकमा यात्रु ओसारपसार गर्ने ग १ ज ६८८३ नम्बरको जिपका धनी र चालकलाई पनि जनही एक सय रुपैयाँका दरले जरिवाना गरिएको प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताउनुभयो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि २५ गते राती बाह् बजेसम्म अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाउदै लकडाउन गरेको छ । जिल्ला प्रशासन कार्यालयले चैत ११ गतेदेखिनै लकडाउनलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: