शितभण्डारमा विद्युतको वैकल्पिक व्यवस्था मिलाउन बजेट बिनियोजन

बेनी, १४ माघ । धौलागिरि क्षेत्रमा सबैभन्दा धेरै सुन्तला खेति भएको पर्वतको जलजला गाउपालिका–१ बाँसखर्कमा निर्माण भएको सुन्तला शितभण्डार गृहमा विद्युतको बैकल्पिक व्यवस्था मिलाउन गाउपालिकाले बजेट बिनियोजन गरेको छ ।

केन्द्रीय प्रशारण लाइनको विद्युत अवरुद्ध भएको अवस्थामा कोल्डस्टोरका उपकरण चालू बनाउन जनेरेटर खरिदका लागि गाउपालिकाले बजेट बिनियोजन गरेको हो । आइतबार लामाखेत स्थित गाउपालिकाको कार्यालयमा बसेको कार्यपालिका बैठकले दुई लाख रुपैया बजेट बिनियोजन गरेको बासखर्कका वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।

बासखर्कमा वितरण लाइन सुधार गरेर ११ केभीएबाट विद्युत आपुर्ति गर्ने व्यवस्था मिलाइएको र केन्द्रीय लाइन नआएको अवस्थामा पनि कोल्डस्टोर चालु राख्न जेनेरेटर खरिदका लागि बजेट बिनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि बासखर्कमा ३३ केभीएको लाइनबाट विद्युत वितरण गरिएको थियो । त्यसो हुदा लाइनको कुनै ठाउमा समस्या हुदा सबै ठाउमा विद्युत जाने समस्या थियो । ‘३३ केभीको मेन लाइनबाट ११ केभीको वितरण लाइनबाट विद्युत वितरण गर्ने व्यवस्था मिलाइएको छ,’ वडा अध्यक्ष रेग्मीले भन्नुभयो ।

गत शुक्रबार शितभण्डार उद्घाटनका क्रममा बासखर्कका कृषकहरुले शितभण्डार सञ्चालनका लागि नियमित विद्युत आवश्यक पर्ने र केन्द्रीय लाइनमा समस्या आउदा विद्युत आपुर्ति गराउन बैकिल्किप व्यवस्था मिलाउन गाउपालिकासंग माग गरेका थिए ।

बेमौसममा बजारमा सुन्तला बिक्री गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको सहयोगमा बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाले ७८ लाख रुपैयाको लगानीमा हालै शित भण्डार बनाएको सहकारीका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो ।

७८ लाख ७१ हजार २४० रुपैयाको लागतमा निर्माण भएको शितभण्डार गृहमा १६ मेट्रिक्टन सुन्तला भण्डारण गर्न सकिने क्षमता छ । हाल असी रुपैया प्रतिकेजीका दरले बिक्री भइरहेको सुन्तला भण्डारण गरेर तीन महिनापछि १२० रुपैया प्रतिकिलोग्रामका दरले बिक्री गर्न सकिने कृषक ख्यामबहादुर खत्रीले बताउनुभयो ।

शितभण्डारमा नियन्त्रित तापक्रममा सुन्तला राख्न सकिन्छ । सिजनमा मूल्य र बजार नपाउने समस्या छ । बासखर्कमा १६० घरधुरीले ८४ हेक्टर क्षेत्रफलमा व्यवसायिक सुन्तला खेति गरेका छन् ।

यस वर्ष दुई करोड पचास लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको सहकारीले जनाएको छ । नगद आम्दानी हुने भएकाले कृषकहरुले धान, गहु, मकै, कोदो लगायत अन्नबालीको विकल्पमा ब्यवसायिक सुन्तला खेति गरेका कृषक नन्दबहादुर खत्रीले बताउनुभयो ।
सुन्तला बगैचा व्यवस्थापन, सिचाई, शितभण्डारमा नियमित विद्युत आपुर्ति र महशुलमा छुट र सडक स्तरोन्नतिका लागि बासखर्कका कृषकहरुले माग गरेका छन् । शितभण्डार गृह सञ्चालनमा ल्याउन सकेमा सिजनमा उत्पादन भएको सुन्तलाले बजार र मूल्य नपाउने समस्याबाट कृषकले मुक्ति पाउने देखिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: