सुन्तला खेतिमा मानवमुत्रको प्रयोग प्रभावकारी

अमित विश्वकर्मा
बेनी, १२ माघ । सुन्तला खेतिमा मानवमुत्रको प्रयोग प्रभावकारी बनेको छ । सुन्तला बगैचामा मानव मुत्र प्रयोग गरेपछि रोगकिराको समस्या नदेखिएको र उत्पादन बढेको छ ।

मंगला गाउपालिका–५ अर्मनमा गत वर्षदेखि मानिसको मुत्र संकलन गरेर सुन्तला खेतिमा जैविक विषादी र मलको रुपमा प्रयोग गर्न थालिएको थियो । सुन्तला बगैचामा मलको रुपमा मानब मुत्रको प्रयोग गरेपछि सुन्तला उत्पादन दोब्बरले बढेको गाउँ कार्यपालिका सदस्य समेत रहनुभएका खोलाखर्कका कृषक रत्नबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्मन, आरुखोला, मठबोट र खालाखर्कबाट यस बर्ष करिब ३० लाख रुपैयाँ मूल्इ बराबरको सुन्तला निकासी भएको छ । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका हुन ।

अर्मनमा करिब ५० घरधुरी कृषकहरुले ब्यबसायीक रुपमा सुन्तला खेती गरेका अर्मन सुन्तला उत्पादन कृषक समुहका अध्यक्ष धन बहादुर रोकाले बताउनु भएको छ । उहाँले आफ्नो सुन्तलाबारीबाट यस बर्ष रु २ लाख २७ हजारको सुन्तला बिक्री भएको बताउनुभयो ।

अध्यक्ष रोकाका अनुसार आरुखोलाका धनबहादुर छन्त्यालले एक लाख ५७ हजार, अर्मनका प्रेम बहादुर रोकाले एक लाख ४३ हजार, मठबोटका रबिलाल छन्त्यालले एक लाख ७८ हजार, टेक बहादुर श्रीसले एक लाख २२ हजार र दिलबहादुर छन्त्यालले एक लाख एक हजार रुपैयाँको सुन्तला बिक्री गर्नु भएको छ ।

सुन्तला उत्पादन राम्रो भएपछि बर्षेनी यहाँका कृषकहरुले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती बिस्तार गर्न थालेका छन् । मंगला गाउपालिकाले गत वर्षदेखि अर्मनमा मानव मुत्र संकलन गरेर सुन्तला खेतिमा प्रयोग गर्ने व्यवस्था मिलाएको थियो ।

शिशू कल्याण माविमा मुत्र संकलन गर्ने व्यवस्था मिलाइएको थियो । प्रतिलिटर २५ रुपैयाँका दरले मुत्र खरिद गरेर कृषकले सुन्तला बगैचामा मल र जैविक विषादीको रुपमा प्रयोग गरेका थिए ।

रोगकिराको व्यवस्थापन, रासायनिक विषादी र मलको प्रयोग न्युनीकरण तथा प्राङगारिक बस्तु उत्पादनका लागि मानव मुत्रको प्रयोग गर्ने अभियान थालिएको गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

मानवमुत्रको प्रयोग प्रभावकारी बनेपछि कृषकहरुले घरमै मुत्र संकलन गर्न थालेका छन् । समुन्दी सतह देखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाइ मंगला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषण गरि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: