बेनी १२ माघ । पर्वतको जलजला, मोदी र म्याग्दीको अन्नपूर्ण गाउपालिकाको सिमानामा पर्ने जलजला–हम्पाल–कालञ्जर पर्वतको धार्मिक पर्यटन विकासका लागि आगामी नयाँ वर्षमा महायज्ञ सञ्चालन हुने भएको छ ।
मुक्तिनाथ पिठाधीश कमलनयनाचार्यको अगुवाइमा आगामी २०७७ बैशाख १ देखि ७ गतेसम्म जलजलाको हम्पालमा सञ्चालन हुने महायज्ञको तयारीका लागि जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा मुल आयोजक समिति गठन भएको छ ।
गत मंसिरमा मिलनचोकमा सञ्चालन भएको गौमहोत्सवको अवसरणमा घोषणा गरिएको महायज्ञ सफल बनाउन आइतबार मुल आयोजक समितिको पदाधीकारी र सदस्य चयन गरिएको छ ।
मोदी गाउपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेल र अन्नपूर्ण गाउपालिका म्याग्दीका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन सहअध्यक्ष, जलजला, मोदी र अन्नपूर्णका उपाध्यक्षहरु क्रमश ः सिमा पुन, सेती महत र केशमाया मगर तथा राजु आचार्य र कृष्णप्रसाद पराजुली उपाध्यक्षमा चयन हुनुभएको छ ।
जगन्नाथ आचार्य महासचिव, याम शर्मा पौडेल कोषाध्यक्ष, पूर्णहरि रेग्मी सहकोषाध्यक्ष, नारायणदत्त सापाकोटा, नारायण मल्ल, कृष्णप्रसाद रेग्मी, गोपाल आचार्य र नरसिंह पुन सचिवमा चयन हुनुभएको छ ।
तीन वटै गाउपालिकाको वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सरकारी कार्यालय र गैरसरकारी संघ संस्थाका प्रमुखलाई पदेन सदस्यमा चयन गरिएको छ । महायज्ञ सञ्चालन हुने ठाउसम्म सडक, विद्युत र खानेपानी पु¥याइने मुल आयोजक समितिका अध्यक्ष मल्लले बताउनुभएको छ ।
जलजला गाउँपालीकाले ऐतिहासिक, धार्मिक, पर्यटकीय र जैवीक बिबिधताको खोज अनुसन्धान गरी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लागेको जनाएको छ ।
समुन्द्रि सतहदेखि तीन हजार मिटरको उचाइमा पहाडको टाकुरामा समथर भुगोल र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । जलजला गाउँपालिकाको नाम यसैबाट नामाकरण भएको छ ।
हिन्दु धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको जलजला क्षेत्रको धेरै भुभाग जलजला गाउँपालीकाको ५ लेकफाँट र ६ शालीजामा फैलीएको छ । पर्वतको सबैभन्दा उच्च स्थान जलजलाबाट हिमशृङखला, सुर्योदय, सुर्यास्त र पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।
धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न सकिन्छ ।
लालीगुराँसको जंगल रहेको जलजलामा पोखरी आकारको ठूलो फाँट रहेको छ । त्यहाँ बाँध बाँधेर तलाउ बनाउने विषयमा सम्भाव्यता अध्ययन गरिने भएको छ । तलाउ बनाएमा जलजलालाई थप आकर्षक स्थल बनाउने योजना छ ।
हनुमानले यही क्षेत्रबाट जडिुवटी लगेर औषधी उपचारमा प्रयोग गरेको धार्मीक ग्रन्थ रामणयमा उल्लेख छ । निरमसी, पाँचऔलो सतुवा लगायत बहुमूल्य जडिवुटीहरु प्रशस्त पाईने जलजला क्षेत्रको जंगलमा मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालीज लगायत पशुपंक्षीको बसोबास छ ।
मातातिर्थ औसीका दिन दिवंगत बुवा आमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पुजाआजाका लागि शंकर भगवानको मन्दिर बनाइएको छ । भक्तजन र पर्यटकलाई पदमार्ग, खाने बस्ने होटल तथा लजको अभाव छ ।
जलजलाको धार्मीक, पर्यटकीय र जैविक बिबिधताको सम्भावनाको अनुसन्धान, संरक्षण तथा प्रर्वद्धनका लागि पहल सुरु गरिएको जलजला गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।