मल्लाजमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु

बेनी, १ मंसिर । जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि निशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सुरु भएको छ ।

लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना गरेको शिविर तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । जलजला गाउँपालिकाको समन्वय, नवउत्साही समूह र न्यु होराइजन आवासीय मावि सहयोगी रहेका छन् ।

क्लवका अध्यक्ष दिनेश बानियाको अध्यक्ष, जोन चियर पर्सन दिलीप बरुवालको स्वागत र सचिव दलबहादुर जिसीको सञ्चालनमा भएको कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिविरको उद्घाटन गर्नुभएको थियो ।

अध्यक्ष मल्लले ग्रामिण क्षेत्रमा रहेका आँखाका बिरामीको पहिचान र उपचारका लागि शिविर प्रभावकारी भएको बताउदै शिविर सञ्चालनका लागि गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वडा अध्यक्ष देविन्द्र भण्डारी (रवी)ले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

शिविरको पहिलो दिन २३५ जनाको आँखा परिक्षण गरिएको र १७ जना मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका क्लवका अर्जुन पौडेलले जानकारी दिनुभयो । हिमालयन आँखा अस्पताल पोखराकी हरिमाया गुरुङको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले सेवा दिने जनाइएको छ ।

शिविरमा आँखा परिक्षण, परामर्श, मोतियाबिन्दुको शल्यक्रिया र निशूल्क चश्मा वितरण सेवा दिइने क्लवका बिक्रम सुवेदीले बताउनुभयो । माझफाँट, लेकफाँट, बासखर्क, शालीजा, धाइरीङका साथै म्याग्दीको बेनी आसपासका ठाउँबाट बिरामी शिविरमा आएका छन् ।

मल्लाज कोतघर परिसरमा परिक्षण तथा स्वास्थ्य चौकीमा शल्यक्रिया गरिने भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: