आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, भ्रष्टचार हुन नदिने प्रधानमन्त्रीको भनाई

मंसिर २४ । आज डिसेम्बर ९ तारिख । भ्रष्टचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ ।

महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, यति हुँदा हुँदै पनि नेपालमा भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन । केही समय अघि सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन् बढेको देखाएको थियो ।

प्रतिवेदनले सरकारले नै भ्रष्टाचारलाई संरक्षण दिइरहेको दाबी गरेको थियो । तर सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रह राखेर बनाइएको भन्दै अस्वीकार गरेको छ । यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै उहाँले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै भएकाले क्षम्य हुन नसक्ने बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: