बिमका पहिरो पिडितलाई दुई लाख पचास हजार सहयोग

बेनी, ७ भदौ । म्याग्दीको मालिका गाउपालिका–७ बिमका पहिरो पिडितका लागि आइतबार दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

हेमराज शर्माको पहलमा विश्वका विभिन्न ठाउँमा पुगेका युवाहरु आवद्ध युवा आवाज म्याग्दी मार्फत एक लाख पचास हजार र नर्वेमा रहेका अर्मनका मदन कडेल, राजन शाही र भागवान शाहीको पहलमा एक लाख रुपैयाँ सहयोग प्राप्त भएको हो ।

दुई वटै सहयोगी संस्था तथा व्यक्तिहरुले संकलन गरेर पठाएको रकम पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कडेल (सदन)ले आइतबार मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको उपस्थितिमा बिमका वडा अध्यक्ष रेशम जुग्जाली र वडा सदस्य वुद्धीबहादुर जुग्जालीलाई हस्तान्तरण गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन किसानी माविका शिक्षक सुरमान गर्बुजाले गर्नुभएको थियो । गाउपालिकाका अध्यक्ष रोका र वडा अध्यक्ष जुग्जालीले सहयोगदाताहरुलाई धन्यवाद दिदै प्राप्त सहयोग रकम असार २६ गतेको पहिरोका कारण घरबास गुमाएकाहरुको पुनस्थापनामा परिचालन गरिने बताउनुभयो । बिमको तल्लोगाउँ, नौरु, दुले र बाइन्दफाँटमा गएको पहिरोले ८ जनाको मृत्यु भएको थियो भने १ जना अझै वेपत्ता छन् ।

पहिरोले बगाएर, भत्काएर र पुरिएर २६ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ । ५० देखि ६० घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन् । पिडितहरुलाई बेनी, पोखरा, काठमाडौ लगायत देशका विभिन्न ठाउँ र विदेशमा भएका घरका धनिसँगको सहमतिमा खाली घर, आफन्तकहाँ र पिडितकै अन्यत्र सुरक्षित ठाउँमा भएका अस्थाई रुपमा ब्यवस्थापन गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: