संग्रहालय भवन निर्माणमा ४७ लाख खर्च

बेनी, ७ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडा स्थित करबाकेलीमा संग्रहालय स्थापना गर्न भवन निर्माणका लागि हालसम्म भएको खर्च सार्वजनिक भएको छ ।

करबाकेली बाबा संरक्षण समिति अन्तरगत भवन निर्माण समितिका संयोजक चामबहादुर पुन र सचिव रबि गर्बुजा पुनले आइतबार खर्चको विवरण जानकारी गराउनुभएको हो । हालसम्म दुई तले भवन निर्माण भएको छ । माथिल्लो तलाको काम अन्तिम चरण र तल्लो तलाको काम बाँकी छ ।

यस अवस्थासम्म ४७ लाख ११ हजार ४२८ रुपैयाँ खर्च भएको जानकारी गराइएको हो । बाँकी कामलाई पूर्णता दिएर संग्रहालय तयार पार्नका लागि थप सहयोगको अपिल गरेको छ । दश हजार भन्दा बढी सहयोग गर्नेको नाम शिलालेखमा लेखेर आजिवन सदस्यता र पचास हजार भन्दा बढी सहयोग गर्नेका परिवारका सबैलाई आजिवन सदस्यता प्रदान गरिने समितिले जनाएको छ ।

परम्परागत सामग्रीको संरक्षण र ग्रामिण पर्यटन प्रर्वद्धनका लागि दैनिक जिवन, रितीरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर राखिने संग्रहालयको दुई तले भवन निर्माण भएको छ ।

सरकारी निकायको सहयोगका साथै चन्दा संकलन गरेर संग्रहालय भवन बनाइएको निर्माण समितिका अध्यक्ष चामबहादुर पुनले बताउनुभयो । भवन निर्माणमा गण्डकी प्रदेश सांसद बिनोद केसीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट पाँच लाख बिनियोजन गर्नुभएको थियो ।

अन्नपूर्ण गाउपालिकाले पाँच लाख सहयोग गरेको छ । बाँकी सबै स्थानीयको श्रमदान र चन्दा सहयोग जुटाएर भवन तयार पारिएको हो । परम्परागत सिप र सामानको प्रयोगबाट मौलिकता झल्कने किसिमको भवन बनाइएको छ ।

भवनको भुई तलामा ढलान, पलास्टर र माथिल्लो तलाको भित्तामा काठ ठोक्न बाँकी छ । भवनमा ४५ लाख र सामग्री खरिद गर्न १५ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिएपनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाउने निर्माण समितिका सचिव रवी गर्बुजा पुनले बताउनुभयो ।

हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाडाकुँडा र दैनिक जिवनमा प्रयोग हुने सामग्री राखिने भएको छ । परम्परागत सामग्रीको संरक्षणसंगै पर्यटन प्रर्वद्धन गर्नु संग्रहालय स्थापनाको मूख्य उद्देश्य भएको राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयोे ।

पुन समुदायको कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा दुई करोड रुपैयाँ भन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदान लगायतका पुर्वाधार निर्माण भइसकेको छ ।

स्थानीयबासीले निशूल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रबिधि र परम्परागत सिपको प्रयोग गरि मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमतीहरु हिमला, फिमला, छोराहरु रामचन र कुलचनको मुर्ति छन् ।

मन्दिरको प्रवेशद्धारमा सुन गरुडको शालीक बनाइएको छ । गरुड पुनहरुले पुज्ने पंक्षी हो । यस स्थानमा पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मंगलबार र मंसिरको पहिलो उजेली मंगलबार पारेर पूजा गर्छन् ।

करबाकेली सम्म पुग्ने करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्धार पनि निर्माण निर्माण गरेका छन् । करबाकेली परिसरमा करिब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबार सहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ ।

करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुबिधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौ वटा कोठा रहेको उक्त होटलमा एक दिनमा ५० जना भन्दा बढी पाहुना बास बस्न सक्ने सुबिधा छ ।

समुन्द्री सहतदेखि दुई हजार २०० मिटरको उचाईमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका ग्रामिण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ ।

नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृष्य देखिन्छ । करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जंगल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको बिशेषता भएको बताउनुभयो ।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: