बेनीको मंगलाघाटमा बाढीको बितण्डा (फोटो सहित)

बेनी, ३१ साउन ः बेनी नगरपालिका–७ स्थित मंगलाघाट बजारमा गएराती बाढी पसेर सात वटा घर सहित सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

बेनी–पाखापानी सडकको अर्थुङ्गेबाट आएको बाढीले निजी घर, खानेपानी आयोजना, धार्मिक स्थल महारानी थान, सत्यसाइकेन्द्र, खेलमैदान र सडकमा क्षति पु¥याएको हो । जिल्ला सदरमुकाम बेनी बजारको पश्चिमी भागमा अवस्थित मंगलाघाटका बासिन्दा बाढीको त्रासका कारण रातभर जाग्राम बसेका थिए ।

बबुल केसी, रुद्रबहादुर सुनार याममाया पुन, चित्रकुमारी गौचन, हिक्मत शेरचन, राजु केसीको घर र त्यहाँ सञ्चालमा रहेका पसलभित्र बाढी पसेर सामान नष्ट भएको मंगलाघाट प्रहरी बिटले जनाएको छ ।

प्रहरी हवल्दार बालबहादुर सोमै मगरका अनुसार जिवन सापकोटा सञ्चालक रहेको म्याग्दी मोटर पाट्र्स एण्ड वर्कसप उद्योगको टहरा, शौचायय र ग्यारेज बाढीले पुरिएको छ । ग्यारेजमा करिब रु. छ लाख बराबरको क्षति पुगेको छ ।
सत्यसाई केन्द्र परिसरमा निर्माण गरिएको खेलमैदान पुरिएको छ ।

हिक्मत शेरचनको पलाइउड उद्योगमा बाढी पसेर ३०० गोटा पलाइउड नष्ट हुँदा रु. पाँच लाख बढीको क्षति भएको छ । सत्यसाई केन्द्रको भवन र शौचालयमा बाढी पसेको छ । महारानी थानको डिलको पर्खाल भत्कीएर मंगलाघाट स्थित नगरप्रमुख हरिकुमार श्रेष्ठको बारी पुरिएको छ । गोठमा क्षति पुगेको छ ।

यसैगरी मंगलाघाटमा रहेका कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र भू–तथा जलाधार संरक्षण कार्यालयको कर्मचारी आवास भवनमा बाढी पसेर ढुवानमा परेका छन् ।

राती बाढी आएपछि आवास छाडेर बजारमा गएर बसेको बन डिभिजन कार्यालयका लेखापाल कृष्ण रिजालले बताउनुभयो । १० वटा भवनहरुको भुईतलामा लेदोले हिलाम्मे भएका छन् । महारानीथानको पहिरोले बेनी–अर्थुङ्गे हुदै पाखापानी जोड्ने र मंगलाघाटको पहिरोले मंगला, मालिका र धवलागिरी गाउपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध बनाएको छ ।

बेनी देखि पोखरा, मुस्ताङ, दरवाङ, बागलुङ जोड्ने सबै सडक अवरुद्ध भएका प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताउनुभयो । दूधेखोलाबाट पानी ल्याउने बेनी खानेपानी उपभोक्ता संस्थाको पाइप पहिरो र बाढीले बगाएको छ ।

मंगलाघाटका रबी बानियाले राती साढे ११ बजेदेखि आउन सुरु गरेको बाढी तर्काउदा तर्काउदै उज्यालो भएको बताउनुभयो । स्थानीयबासी हिक्मत शेरचनले ढुङ्गा, माटो र काठ सहितको बाढी घर तथा पसल भित्र पसेर क्षति भएको बताउनुभयो ।

बेनी–अर्थुङ्गे सडकको भल कुरिलाखर्क र आँपरुख खण्डमा खसेको पहिरोमा मिसिएर आउँदा मंगलाघाटमा बाढी आएको स्थानीयबासीले बताए । महारानीथान देखि अग्नीखेत जोड्ने सडकको डिलमा लगाइएको पर्खाल चर्कीएपछि उपल्लो मंगलाघाटका करिब १५ घर जोखिममा परेका छन् ।

यसअघि बेनीको क्याम्पसचोक तर्फ जाने बाढी शुक्रबार दिउँसो अर्थुङ्गेमा रहेको सेनाको ब्यारेक मुनी खसेको पहिरोका कारण मंगलाघाटतर्फ सोझिएको महारानीथानका धु्रबराज शर्माले बताउनुभयो ।

बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बाढी पन्छाउन नगरपालिकाले एक्साभेटर परिचालन गर्ने बताउनुभयो । सडकको भल र पहिरोको ब्यवस्थापन तथा नियन्त्रणको काम पनि आजै सुरु गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: