मराङका पहिरो पिडितलाई थकाली सेवा समाज अस्टे«लीयाको सहयोग

बेनी, ३० साउन । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितलाई थकाली सेवा समाज अस्टे«लियाले दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।

म्याग्दीको मराङ घर भई हाल अस्टे«लीयामा रहनुभएका प्रमोद खत्रीको पहलमा समाजले उपलब्ध गराएको दुई लाख १२ हजार ८५० रुपैयाँ शुक्रबार गाउपालिकाको विपद् ब्यवस्थापन कोषमा जम्मा गरिएको छ ।

समाजले यसअघि पठाएको एक लाख पचास हजार रुपैयाँबाट मराङका पहिरो पिडितलाई राहत सामग्री उपलब्ध गराइएको थियो । हेम मावि शिवाङको भवनमा बसेका कल्लेनीका करिब पचास जनालाई लत्ताकपडा र वडा कार्यालयको समन्वयमा राम्चे, दमका, कुम्रि र रिखमा पूर्ण घर क्षति भएका १८ परिवारका लागि भाडा र औषधी उपलब्ध गराइएको थियो ।

दोस्रो चरणमा समाजले मराङका पहिरो पिडितका लागि भनेर गाउपालिकाको विपद् ब्यवस्थापन कोष मार्फत सहयोग गरेको हो । फुटबल खेलाडी समेत रहनुभएका खत्रीले जन्मथलोमा भएको विपद्बाट प्रभावितलाई सहयोग गरिएको बताउनुभयो । असार २६ गतेको पहिरोका कारण कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखामा १९ जनाको मृत्यु र दुई जना वेपत्ता भएका छन् ।

मालिका गाउपालिका–७ बिममा ८ जनाको मृत्यु र एक जना वेपत्ता भएका थिए । पहिरोबाट धवलागिरी गाउपालिकाको ताकम, धारापानी, काफलडाडा, मालिका गाउपालिकाको देविस्थान, रघुगंगा गाउपालिकाको कुइनेमंगले र अन्नपूर्ण गाउपालिकाको दाना क्षेत्रमा बढी असर परेको छ ।

धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुनले सहयोग गरेकोमा समाजलाई धन्यवाद दिदै सो रकम पहिरो पिडितको पुनस्थापनमा परिचालन हुने बताउनुभयो । गाउपालिकाको विपद् ब्यवस्थापन कोषमा दश लाख रुपैया भन्दा बढी र मराङका वडा अध्यक्ष राजाराज सुवेदी तथा ज्ञानबहादुर गर्बुजाको नाममा खोलिएको खातामा करिब २३ लाख रुपैयाँ संकलन भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: