हेलिकप्टरबाट मगरदाङमा जेनेरेटर र मराङमा जस्तापाटा ढुवानी

बेनी, २९ साउन ः म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत जेनेरेटर र जस्तापाटा ढुवानी गरिएको छ ।

सिम्रिक एयरको हेलिकप्टरले बिहीबार दरवाङबाट ढुवानी गरेर मालिका गाउपालिका–५ देविस्थानको मगरदाङमा जेनेरेटर र धवलागिरी गाउपालिका–६ मराङमा जस्तापाटा पु¥याइएको हो । असार २५ र २६ गतेको पहिरोले २५ किलोवाट क्षमताको मगरदाङ–डाडागाउ–आशाटोल लघुजलविद्युत परियोजनाको बाँध, नहर र विद्युतगृह बगाएपछि १२५ घरधुरी अन्धकारमा थिए ।

उपभोक्ताहरुले छ लाख २० हजार रुपैयाँमा १० हर्सपावर क्षमताको डिजेलबाट चल्ने जेनेरेटर खरिद गरेपनि दरवाङ देखि देविस्थान जोड्ने सडक अवरुद्ध भएका कारण ढुवानी हुन सकेको थिएन् । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले पहिरो पिडितहरुको राहतका लागि संकलन गरेको रकमबाट जेनेरेटर ढुवानी गरिएको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर घर्तीले बताउनुभयो ।

केन्द्रीय प्रशारण लाइन विस्तार नहुँदा सम्म जनेरेटेर चलाएर उज्यालोको बैकल्पिक ब्यवस्था मिलाउन लागिएको हो । स्थानीयबासीको एक करोड दुई लाख रुपैयाँ लगानीमा निर्माण भएको लघुजलविद्युत परियोजनाको सबै संरचना पहिरोले क्षत विक्षत भएको छ ।

यसैगरी मराङको विभिन्न ठाउँका पहिरो पिडितको अस्थाई ब्यवस्थापनका लागि तयार पारिएको टहरा छाउन धवलागिरी गाउपालिकाले खरिद गरेको २६७ थान जस्तापाटा खरिद गरेको थियो । सो जस्तापाटा गाउपालिकाको खर्चमा हेलिकप्टर मार्फत मराङमा पु¥याइएको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववीयू म्याग्दीले पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थाई बसोबासका लागि ५१ वटा टहरा बनाएका हुन् । ६५ परिवारको बसोबासका लागि स्थानीय डाफे युवा क्लवसँगको सहकार्यमा बेशीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएका थिए ।

प्रतिनिधिसभा सदस्य थममाया थापा, भुपेन्द्रबहादुर थापा, संबिधानसभा सदस्य नवराज शर्मा, जिसस प्रमुख देवेन्द्र केसी, नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश सदस्य टेकबहादुर विश्वकर्मा र स्थानीय जनप्रतिनिधिहरुको टोलीले केही दिन अघि पहिरो प्रभावित बस्तिको निरिक्षण गर्नुभएको थियो ।

पहिरो प्रभावित क्षेत्रको जनजिवनलाई सहज बनाउनका लागि स्थानीयबासीको आग्रह अनुसार मगरदाङमा पार्टीकै खर्चमा जेनेरेटर र मराङमा गाउपालिका मार्फत जेनेरेटर ढुवानीको ब्यवस्था मिलाएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

नेकपाले पहिरो पिडितका लागि दश लाख रुपैयाँ भन्दा बढी सहयोग जुटाएको छ । यसअघि नेपाली काँग्रेस म्याग्दीले पनि पहिरो प्रभावित क्षेत्रमा दश लाख रुपैयाँ बरारबको खाद्यान्न लगायत राहत सामग्री वितरण गरेको जनाएको छ । राप्रपा म्याग्दीले जिल्ला विपद् ब्यवस्थापन समितिको कोषलाई पचास हजार रुपैयाँ सहयोग गरेको थियो ।

पहिरो र बाढीका कारण म्याग्दीको धवलागिरी, मालिका, अन्नपूर्ण र रघुगंगा गाउपालिकामा ३१ जनाको मृत्यु तथा ५ जना वेपत्ता भएका छन् । जिल्लाभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिम र १४९ घर जोखिम भएर विस्थापित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक, विद्युत, सिचाई, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय लगायत सार्वजनिक सम्पत्ति, पशुधन र कृषिमा पनि ठूलो क्षति भएको छ । सिम्रिकको हेलिकप्टरबाट यसअघि साउन दोस्रो हप्ता बेनी देखि मंगला गाउपालिका–५ कुरसिम्लामा विद्युतको ट्रान्सफर्मर र अन्नपूर्ण गाउपालिकाको काभ्रे, कोप्चेपानीमा खाद्यान्न तथा मराङमा औषधी ढुवानी गरिएको थियोे ।

सिम्रिक एयरको पश्चिमाञ्चल क्षेत्रीय प्रमुख कमल गौतमले सामाजिक कार्यमा छुट गरिएको बताउनुभयो । ‘कोभिडको समयमा सिम्रिकले राहत, उद्धार जस्ता सामाजिक काममा छुट दिएका छौ,’ उहाले भन्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: