बेनी अस्पतालले डायलाइसिस सेवा सुरु गरेपछि मृगौलाका बिरामीलाई राहत

बेनी १८ साउन ः बेनी अस्पतालले आइतबारदेखि मिर्गौला रोगबाट पीडित बिरामीका लागि डायलासिस सेवा सुरु गरेको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा उपकरण र पुर्वाधार जुटाएर सेवा सुरु गरेको हो । पहिलोपटक रघुगंगा–१ बेगकी पार्वति विक र ताराखोलाका लिलाकान्त कडेलले डायलाइसिस सेवा लिनुभयो ।

जिल्लामै डायलाइसिस सुरु भएपछि पोखरा, बागलुङ, काठमाडौ, चितवन लगायतका जिल्लामा पुग्नुपर्ने म्याग्दीबासीको समस्या हट्ने बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

उहाँका अनुसार ६० जना मृगौलाका बिरामी सम्पर्कमा आएका छन् । पहिलो चरणमा १५ जना डायलाइसिस गर्ने तयारीमा छन् । १ महिनासम्म डायलाइसिस सेवाको शूल्क अस्पताल ब्यवस्थापन समितिले ब्यहोर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।

मन्त्रालयले चार वटा हेमोडायलाइसीस मेशिन उपलब्ध गराएको थियो । अस्पताल र स्वास्थ्यको कार्यालय रहेको भवनको भुईतलामा हेमोडायलासिस युनिट स्थापना गरिएको छ । सोका लागि प्रदेश सरकारले मेसिन बाहेक गत आवमा रु. ३५ लाख उपलब्ध गराएको थियो ।

अस्टे«लीयामा रहेका म्याग्देलीको पहलमा दाताले दिएको दुई थान डाइलाइसिस मेसिन पनि छ । डायलाइसिस सेवा सञ्चालन गर्न डाक्टर सहित छ जना तालिमप्राप्त स्वास्थ्यकर्मी ब्यवस्था छ । पहिलो चरणमा दुई वटा मेसिन सञ्चालन गरिएको छ । बिरामीको चाप अनुसार बिहान, दिउँसो र साँझ तीन सिफ्टमा दैनिक १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने अस्पतालका प्रमुख डाक्टर अमृत अधिकारीले बताउनुभयो ।

म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउपालिकाका मृगौलापिडित लाभान्वित भएका छन् । जिल्ला बाहिरा जाँदा हुने समय र नगद बचत हुने बेगकी मृगौला पिडित पार्वति विश्वकर्माले बताउनुभयो । मिर्गौलापीडित बिरामी अधिकांशको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य थिए ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले बेनी, स्याङ्जा र पर्वत अस्पतालमा डायलाइसीस सेवा सुरु भएको बताउनुभयो । मिर्गौलाका बिरामीले हप्ताको एकदेखि जटिलता हेरेर चार पटकसम्म डायलासिस गराउनुपर्ने हुन्छ । निजी अस्पतालमा एकपटक डायलासिस गराउँदा यातायात, खानाबस्नसहित गरी आठ हजारभन्दा बढीसम्म खर्च हुन्छ ।

छिट्टै भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसीयु) पनि सुरु गर्न लागिएको बेनी अस्पतालका प्रमुख डाक्टर अमृत अधिकारीले बताउनुभयो । पाँच वेड क्षमताको आइसियु वार्ड स्थापना भैसकेको छ । बेनी अस्पतालको सुबिधा विस्तारका लागि गत आर्थिक वर्षमा रु. पाँच करोड भन्दा बढी लागतमा उपकरण खरिद र पूर्वाधार थप भएको छ । वि.स २०७२ मा १५ बाट पचास शैया क्षमतामा स्तरोन्नति भएको अस्पतालमा पचास शैया क्षमताको भवन निर्माणाधिन छ ।

उपचारमा प्रयोग हुने औजार, अक्सीजन पलान्ट, मर्चरी पलान्ट, फोहोर व्यवस्थापन भवन र केन्द्र, स्टोर भवन र गाडी खरिद भएको छ । अक्सीजन पलान्ट र शव नसड्ने गरि राख्नका लागि दुई व्यक्ति क्षमताको मर्चरी च्याम्बर स्थापना भएको छ ।

अस्पतालमा उत्पादन हुने मेडिकल जन्य फोहोरको ब्यवस्थापन गर्ने भवन निर्माण र उपकरणको व्यवस्था गरिएको छ । अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिनुका साथै सिटिस्क्यान र थाइराइड परिक्षण, इको मेसिन, एमआरआई लगायतका सुबिधा थपका लागि पहल गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: