गुर्जामा सबै पूर्वाधार योजना निर्माण सम्पन्न

बेनी, २० असार । म्याग्दीको धौलागिरि गाउपालिका–१ मा पर्ने भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जामा चालू आर्थिक वर्षमा दुई करोड नौ लाख रुपैयाँ बजेट बिनियोजन भएका १२ वटा योजना निर्माण सकिएको छ ।

कोरोनाको जोखिम, लकडाउन, चैतसम्म भएको हिमपातका बावजुद उपभोक्ता समिति मार्फत गाउँमा भित्रिएका योजनाहरुको समयमै कार्यान्वयन गरिएको वडा कार्यालयले जनाएको छ । सडक, पदमार्ग, झोलुङ्गे पुल, सिचाई, सार्वजनिक शौचालय निर्माण लगायतका योजना निर्माण सकिएका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयले पचास लाख रुपैयाँ बजेट बिनियोजन गरेको गुर्जा हिमाल पर्यटकीय पदमार्ग योजना अन्तरगत लत्रबाङ, धुर्म हुदै मुदी र गुर्जाको सिमानामा पर्ने फोल्टीङखोला जोड्ने पदमार्ग निर्माण भएको छ ।

छ किलोमिटर पदमार्ग निर्माण गर्ने लागत अनुमान भएपनि उपभोक्ताले थप दुई किलोमिटर पदमार्ग बनाएका निर्माण समितिका अध्यक्ष प्रेमबहादुर छन्त्यालले बताउनुभयो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा उक्त बजेट बिनियोजन भएको थियो ।

तीन महिना सम्म करिब सत्तरी जना गुर्जाबासी जंगलमै बास बसेर पदमार्ग खनेका थिए । गाउपालिकाले ४५ लाख रुपैयाँ बिनियोजन गरेको गुर्जा आन्तरिक मोटरबाटो निर्माण योजना मार्फत मजदुर परिचालन गरेर ७०० मिटर सडक खनिएको छ ।

साढे तीन मिटर फराकीलो ४२४ मिटर सडक खन्ने डिजाइन भएपनि ७०० मिटर खनेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर छन्त्यालले बताउनुभयो । ९० जनाले करिब तीन महिना गल, धन, कैचि, बेल्चा लगायत घरेलु औजार प्रयोग गरेर सडक खनिएको हो ।

सात हजार जना बराबरको रोजगारी सिर्जना भएको छ । गुर्जामा सडक निर्माण गर्न आगामी वर्ष बीस लाख बिनियोजन भएको छ । १४ लाख रुपैयाँ बिनियोजन भएको जनकल्याण मावि घेराबार पर्खाल निर्माणको काम पनि सकिएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको १५ लाख रुपैयाँ सहयोगमा जनकल्याण माविमा छात्रा, बालबालिका र अपाङ्गमैत्री शौचालय निर्माण भएको छ । गुर्जाकै आमा समूहको सामुदायिक स्नानगृह परिसरमा गाउपालिकाको पाँच लाख सहयोगमा सार्वजनिक शौचालय निर्माण भएको छ ।
सात लाख रुपैयाँ बिनियोजन भएको इङ्लेखोला लघुजलविद्युत परियोजनाको विद्युतगृह भवन मर्मत भएको छ । टिबिएसयु र गाउपालिकाको निर्माण सामग्री बाहेक ३१ लाख रुपैयाँको लागतमा गुर्जाकै दोप्ताखोलामा झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

१३ लाख रुपैया बिनियोजन भएको देउरालीको स्याउबारी सिचाई योजनाको काम पनि सकिएको छ । कृषि क्षेत्रतर्फ बिनियोजन भएको पाँच लाख रुपैयाँबाट आठ हजार सतुवा र एक सय स्याउका बिरुवा वितरण गरिएको छ । देउराली देखि गुर्जा जोड्ने घोडेटोबाटोमा बिनियोजन भएको छ लाख १२ हजार रुपैयाँ बराबरको काम पनि सकिएको छ ।

दश लाख रुपैयाँ बिनियोजन भएको गुर्जा देखि ढोरपाटन शिकार आरक्षको सिमानामा पर्ने जलजला जोड्ने पदमार्ग निर्माण योजना समेत सकिएको छ । बालबिवाह न्युनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि बिनियोजन भएको बजेट कोरोनाको जोखिम र लकडाउनका कारण फ्रिज भएको छ ।

धेरै जसो आयोजनाबाट गाउँका बासिन्दालाई रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । चैत महिनासम्म हिमपात भएकाले योजना कार्यान्वयन सुरु हुन सकेको थिएन् । हिमपात रोकिएपछि विकास आयोजना कार्यान्वयन गर्ने तयारी हुँदा लकडाउन भएको थियो ।

बाहिरबाट मानिसलाई भित्रन नदिने र स्थानीय मजदुरलाई परिचालन गर्ने नीति लिएर बजेट बिनियोजन भएका योजना कार्यान्वयन गर्न सफल भएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । यसैबीच धवलागिरी गाउपालिकाले निर्माण सकिएका योजनाहरुको करिब असी प्रतिशत भुक्तानी सकिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: