वन डिभिजनद्धारा एक लाख पचास हजार बिरुवा उत्पादन

बेनी, २० असार । डिभिजन वन कार्यालय म्याग्दीले यस वर्ष एक लाख पचास हजार बिरुवा उत्पादन गरेको छ ।

बेनी स्थित डिभिजन वन कार्यालय र पाँच वटा सब डिभिजन कार्यालयको नर्सरीमा विभिन्न प्रजातिका एक लाख पचास हजार बिरुवा उत्पादन भएको हो । उत्पादीत बिरुवा वन उपभोक्ता र कृषकहरुलाई वितरण सुरु गरिएको निमित्त डिभिजनल वन अधिकृत सन्तोष खनालले जानकारी दिनुभयो ।

वनजन्य, फलफुल, जडिवुटी र शोभनीय प्रजातिका बिरुवा उत्पादन भएको छ । खोटेसल्ला, गोब्रेसल्ला, राईखन्यु, निमारो, बडहर, निमारो, दाते ओखर, टिमुर, कागती, लिचि, अमला, अम्बा, मेवा, लप्सी, चिउरी, तेजपात, कुरिलो, सतुवा, हर्रो बर्रो, चिराइतो, कपुर, धूपी, कल्कीका बिरुवा तयार भएको छ ।

बेनीमा ५७ हजार, बाबियाचौरमा १५ हजार, दरवाङमा चालिस हजार, ताकममा अठार हजार, भुरुङ तातोपानी र पाखापानीमा दश दश हजार बिरुवा उत्पादन भएको छ । वन समूह र कृषकहरुलाई पायक पर्ने ठाउँबाट बिरुवा वितरणको व्यवस्था मिलाइएको सहायक वन अधिकृत नविन विश्वकर्माले बताउनुभयो ।

सात हजार दाते ओखरका बिरुवा बैतडीबाट ल्याएर कृषकहरुलाई वितरण गरिएको छ । फलफुल खेति, निजी वन, सार्वजनिक जग्गामा वन विस्तार, जडिवुटी खेतिका साथै भुक्षय रोकथाम र पशुपालनका लागि आहरा आपुर्तिमा सघाउ पुग्ने किसिमका बिरुवा बितरण गरिएको हो ।

यसैगरी कार्यालयले धवलागिरी गाउपालिका ७ धारापानीको नेचुरल ह्याण्डीक्राइट उद्योगलाई अल्लो प्रशोधन गर्ने आधुनिक औजार खरिद गर्न १६ लाख ३२ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

जडिवुटि भण्डारण तथा प्रशोधन केन्द्र स्थापना कार्यक्रम अन्तरगत औजार खरिद गर्न उद्योग सञ्चालकले चार लाख आठ हजार रुपैया लगानी गर्नुभएको छ । भारतबाट प्रबिधि ल्याएर पोखरामा जडान गरिएको औजार बेनी ल्याइसकेको उद्योगका सञ्चालक किरन थापाले बताउनुभयो ।
छिटो, सहज र गुणस्तरीय रुपमा अल्लो प्रशोधन गरेर पुवा बनाउन सकिने औजार भित्र्याइएको हो । यो औजारले धौलागिरि क्षेत्रकै अल्लो प्रशारण गर्न सक्ने क्षमता छ ।

यसैगरी सामुदायिक वनमा पर्यापर्यटन प्रर्वद्धन कार्यक्रम अन्तरगत बेनी नगरपालिका १ सारेमारेमा वनभोज स्थल निर्माण भएको छ । डिभिजन वन कार्यालयको तीन लाख ८४ हजार रुपैयाँ सहयोगमा कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुले एक लाख पचास हजार २२३ रुपैयाँ बराबरको श्रमदान गरेर वनभोज स्थल बनाएका हुन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: