स्मार्ट सिटिको परिकल्पना सहित बेनी नगरको साढे ५८ करोडको बजेट

बेनी, १० असार । स्मार्ट सिटिको महत्वाकाक्षी घोषणा सहित म्याग्दीको सदरमुकाम अवस्थित बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि साढे ५८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बेनीमा बुधबार सुरु भएको सातौ नगरसभामा उपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेट मध्य आन्तरिक आम्दानी चार करोड तीन लाख २५ हजार रुपैया हुने अनुमान छ ।

चालु शिर्षकमा ३६ करोड ६१ लाख, पुजिगतमा १९ करोड ४० लाख बिनियोजन गरेको नगरपालिकामा साझेदारीमा सञ्चालन गरिने योजना तथा कार्यक्रमका लागि समपुरक कोषमा दुई करोड ५४ लाख ४३ हजार २६४ रुपैयाँ रहेको छ ।

पुजिगत अन्तरगत पुर्वाधार तर्फ पाँच करोड १५ लाख, आर्थिक विकासमा एक करोड २५ लाख, सामाजिक विकासमा एक करोड ८६ लाख, वन तथा विपद् व्यवस्थापनमा ९० लाख, शुसासन तथा संस्थागत विकासतर्फ ३७ लाख रुपैयाँ बिनियोजन भएको छ ।

वडा स्तरीय योजनाका लागि वडा न. १, ४, ६ र १० लाई ५५÷५५ लाख, २, ३, ५ र ९ लाई ६०÷६० लाख, ७ र ८ लाख ५०÷५० लाख बिनियोजन भएको छ । बजेट सार्वजनिक गर्नुअघि नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको थियो ।

छलफलका लागि स्थगित गरिएको नगरसभा असार १७ गतेलाई पुन बोलाइएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले जानकारी दिनुभयो । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणका साथै विकास र सेवा प्रवाहलाई निरन्तरता दिने नीति लिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

कोरोना रोकथाममा खटिनेको बिमा र कोरोना प्रभावितलाई क्वारेन्टिन ब्यवस्थापन लगायतका आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । निजी, सहकारी र सार्वजनिक निकायको साझेदारीमा विकास योजना सञ्चालन गर्ने, रोजगारी सिर्जना गराउने, कृषिको आधुनिकिकरण र बिबिधकरण गर्ने, “एक वडा एक युवा क्लव र एक खेलमैदान”को नीति अघि सारेको छ ।

पूर्वाधार तर्फ “स्मार्ट सिटि”को रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार पार्ने नीति अनुसार आवधिक योजना, क्षेत्रगत गुरुयोजना तयार पार्ने नीति लिएको नगरपालिकाले बेनी देखि वडाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरेर बाह्ै महिना नियमित सवारी सञ्चालन गर्न नयाँ सडक निर्माण भन्दा भएका सडकको स्तरोन्नतिलाई प्राथमिकता दिने घोषणा गरेको छ ।

नेपाल सरकारले अंगिकार गरेको स्मार्ट सिटिका चार आधार स्तम्भहरु (स्मार्ट नगरबासी, स्मार्ट अर्थतन्त्र, स्मार्ट पूर्वाधार र स्मार्ट शाषन) का सूचकहरुलाई अवलम्बन गरी सोही अनुसारका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

खरका छाना र काठका विद्युतका पोल विस्थापित गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा प्रर्वद्धन गर्न गलेश्वरधाम, पुलाश्रम, जगन्नाथ, कपिलाश्रम स्वर्गाश्रम, ज्यामरुककोट, बेनीकोट भण्डार, गुफाराम मन्दिर, शिवालय मन्दिरलाइ समेटेर धार्मिक सर्किट बनाउने, तातोपानीलाई प्राकृतिक उपचार स्थलका साथै पर्यटकीय स्थल बनाउन जोड दिएको छ ।

आन्तरिक स्रोतको पहिचान तथा परिचालन, करदातालाई सम्मान, पेक्कीलाई निरुत्साहित, बेरुजु फस्यौटमा प्राथमिकता, घर बाहल करलाई व्यवस्थित बनाउने, कृषि बिमा गर्ने कृषकको प्रिमीयम शूल्कमा २५ प्रतिशत अनुदान दिने, “एक वडा एक उत्पादन” कार्यक्रमलाई निरन्तरता दिने, अण्डा, दूध र मासुमा नगरलाई आत्मनिर्भर बनाउने नीतिमा उल्लेख छ ।

सिचाई सुबिधा विस्तार, चौतारी पोखरीको संरक्षण, भूमि बैंक स्थापना गर्ने, सार्वजनिक जग्गाको संरक्षण, स्थानीय कच्चा पदार्थमा आधारित उद्यमको प्रर्वद्धन गर्ने नीति लिएको छ । सामाजिक क्षेत्रतर्फ विद्यार्थी अनुपातका आधारमा दरबन्दि मिलान, अंग्रेजी माध्यमबाट पढाउने विद्यालयलाई प्रोत्साहन, बालमैत्री शिक्षण बिधि, “एक वडा एक नमुना विद्यालय कार्यक्रम चलाउने, विपन्न जेहेन्दार दलित विद्यार्थीलाई छात्रवृत्ति दिने, निजी छात्रावासलाई नियमन गर्ने, “समुदाय प्रहरी साझेदारी” कार्यक्रम चलाउने भएको छ ।

रामायण पार्कको डिपिआर कार्यान्वयन, बेनी आक्रमणमा गोली लागेर छिया छिया भएको विद्युत पोललाई ल्याएर संग्रहालयमा राख्ने, एचआइभी संक्रमितलाई एआरभी औषधी लिन अस्पताल जाने यातायात खर्च दिने, पोषण सुधारमा जोड दिने, जेष्ठ नागरिक अपांग असाहयको स्वास्थ्य बिमालाई निरन्तरता दिने भएको छ ।

“एक विद्यालय एक नर्स”, खानेपानी सुविधा विस्तार गर्न “एक घर एक धारा” अभियान चलाउने, छाडा पशुको व्यवस्थापन, सडक छेउछाउका पाखोमा बिरुवा रोप्ने, नयाँ ट्याक खोल्ने भन्दा स्तरोन्नितिमा जोड दिने, बेनीको ढल निकास र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने, नदी नियन्त्रणका लागि अन्य निकायसँग समन्वय गर्ने, आमा समूह र युवा क्लवलाई एकिकृत गर्ने भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: