दानाका बासिन्दाद्धारा सबस्टेशनमा तालाबन्दी

बेनी, १० असार ः म्याग्दीको अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको सब स्टेशन निर्माण स्थलमा ताला लगाएका छन् ।

आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमका लागि गरिएका मागको सुनुवाई नभएको भन्दै बुधबार बिहान सबस्टेशनको प्रवेशद्धारमा तालाबन्दी गरेका स्थानीय इन्द्रसिंह शेरचनले बताउनुभयो ।

तालाबन्दी गरेर मजदुरलाई छिर्न नदिएपछि सबस्टेशनमा उपकरण जडान र अन्य निर्माणको काम रोकीएको वडा अध्यक्ष नरसिंह पुर्जाले बताउनुभयो । जनप्रतिनिधि, युवा क्लव, आमा समूह र अगुवाहरुले आयोजनाले सुरत केसीको नेतृत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरेका

वडा अध्यक्ष पुर्जाले माग पुरा नहुदासम्म ताला लगाएर निर्माणमा अवरोध गरिने बताउनुभयो । असार ५ गते वार्ताका लागि बोलाए पनि आयोजनाले बेवास्ता गरेको उहाले बताउनुभयो ।

सामाजिक उत्तरदायीत्वका कार्यक्रम अन्तरगत नियमित विद्युत आपुर्तिको ब्यवस्था, ज्ञानप्रकाश मावि जोड्ने सडक स्तरोन्निति, आमा समूह र युवा क्लवको भवनमा पूर्वाधार तथा दुवाडी खोलाको सडक मर्मत लगायतका माग गरेको गंगा पुनले बताउनुभयो ।

आन्दोलित दानाबासीसँग वार्ताको तयारी भएको आयोजनाको वातावरण तथा सामाजिक इकाइका प्रमुख प्रमोद न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार आयोजनाले सोही वडाकै फगाममा ५५ लाख खर्चेर ५ किलोमिटर सडक निर्माण गरेको छ ।

दाना र पर्वतको खुर्कोटमा सब स्टेशनका साथै ३९ दशमलब ६ किलोमिटर दुरीको प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असार महिनाभित्र सबस्टेशन चार्ज गर्ने आयोजनाको तयारी छ ।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैङ्कको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सब स्टेशन बनाउन लागिएको हो ।

प्रशारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु. दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना करिब दुई वर्ष ढिला गरि सकिन लागेको छ । पोखरेबगर क्षेत्रमा जग्गाधनीसंगको बिवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण प्रभावित बनेको थियो ।

पोखरेबगर क्षेत्रमा करिब दुई वर्षदेखि रोकिएको प्रशारण लाइन निर्माणको काम स्थानीय प्रशासनको सहजिकरणमा गत पुष देखि सूचारु भएको थियो । आयोजना निर्माणमा भएको ढिलाइका कारण घलेम्दीखोला जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत खेर गएको छ ।

१३ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन् । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले प्रशारण लाइन र सबस्टेशनसंगै उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: