अन्नपूर्णको बजेटमा कोरोना रोकथाम, साझेदारी र पूर्वाधार योजना प्राथमिकता

पोखरेबगर, ७ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आगामी वर्षका लागि करिब ४१ करोड रुपैयाको बजेट पारित भएको छ ।

पोखरेबगरमा आइतबार भएको ११ औ गाउँसभामा उपाध्यक्ष केशमाया मगरले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तुत गर्नुभएको ४१ करोड ९४ लाख २६ हजार रुपैयाँको बजेट पारित भएको हो । कोरोना (भाइरस) रोकथाम, चालू आर्थिक वर्षमा कार्यान्वयन हुन नसकेका, साझेदारी, सडक पूर्वाधार, शिक्षा, कृषि र पशुपालनसंग सम्बन्धित योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

बजेटसंगै उपाध्यक्ष मगरद्धारा प्रस्तुत नीति तथा कार्यक्रम, बिनियोजन, आर्थिक बिधेयक सर्वसम्मत पारित भएको छ । विकास आयोजना तथा कार्यक्रमका लागि पुजिगत शिर्षकमा १३ करोड ३६ लाख छ हजार र तलबभत्ता सहित प्रशासनिक कार्यमा खर्च हुने चालु शिर्षकमा सात करोड १६ लाख २० हजार रुपैयाँ बिनियोजन भएको छ ।

शसर्त शिर्षकमा प्राप्त हुने २० करोड ४२ लाख रुपैयाँ बजेट तोकिएकै शिर्षकहरुमा खर्च हुने जनाइएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, चालु वर्षमा खर्च हुन बाँकी रहने बजेटका अलावा आन्तरिक स्रोतबाट ६८ लाख ४० हजार रुपैयाँ आम्दानी हुने बजेट ब्यक्तब्यमा उल्लेख छ ।

कोरोना कोषमा एक करोड ४० लाख, साझेदारीमा सञ्चालन हुने आयोजनाका लागि एक करोड ५० लाख, सडक निर्माण र स्तरोन्नतिमा एक करोड ६७ लाख, शिक्षामा ६९ लाख, पदमार्ग निर्माणमा ६८ लाख, कृषिमा ४० लाख, पशु सेवामा तीस लाख, गाउपालिकाको भवन निर्माणमा २५ लाख रुपैया बिनियोजन भएको छ ।

गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले कोरोनाबाट नागरिकलाई सुरक्षित बनाउने, विकास, आर्थिक गतिबिधि र सार्वजनिक सेवा प्रवाहलाई ब्यवस्थित बनाउन प्राथमिकता दिएको बताउनुभयो ।

“हाम्रा सामु कोरोना महामारीबाट जनतालाई बचाउनेसंगै विकास र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने चुनौति छन्,” उहाँले भन्नुभयो “साउनबाटै योजनाको लगत तयार पारेर सम्झौता र कार्यान्वयन सुरु गर्ने तयारीमा जुटेका छौ ।”

सेवा प्रवाहलाई गुनासो रहित र विकास गतिबिधिलाई पारदर्शी, जनसहभागितामुलक र दिगो बनाउन अध्यक्ष पुनले कर्मचारी तथा जनप्रतिनिधि र सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । अनुत्पादक र अनावश्यक क्षेत्रको बजेट कटौति गरेर भएपनि छनौट भएका योजनाहरुलाई पूर्णता दिने गरि बजेट ब्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताउनुभयो ।

“चालू आर्थिक वर्षमा राजस्व बाडफाड शिर्षकमा बिनियोजन भएको छ करोड रुपैयाँ मध्य तीन करोड रुपैयाँ मात्र प्राप्त भएकाले कतिपय योजनालाई कार्यान्वयन गर्न सकिएन्,’’ उहाले भन्नुभयो “अर्कोवर्ष पनि कोरोना महामारीले राज्यकोषमा पैसा भएन भने यस्तै हुन सक्ने आकलन गरेर योजनाहरुमा बजेट ब्यवस्थापन गरेका छौ ।”

चालू प्रकृतिका बजेटलाई पूर्वाधारमा परिचालन गर्नुपर्ने अवस्था आउने सक्ने उहाँको भनाई थियो । कर्मचारीको अभाव र कोरोनाका कारण चालू आर्थिक वर्षको जेठसम्म पुजिगत शिर्षकको ३३.६८ प्रतिशत बजेट खर्च गरेको गाउपालिकाले असाष सम्म खर्च प्रतिशत पचास नाघ्ने जनाएको छ ।

२०३ वटा योजना तथा कार्यक्रम सञ्चालन गरेकोमा तीन लाख रुपैयाँ भन्दा कम बजेट भएका योजनाका वडामै सम्झौता गर्ने ब्यवस्था मिलाएको छ । चालू आर्थिक वर्षमा ७० लाख रुपैया आन्तरिक आम्दानीको अनुमान गरिएकोमा लक्ष्य भन्दा १६० प्रतिशत बढी एक करोड १२ लाख तीन हजार १८३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

३९ वटा ऐन, नियम, निर्देशिका, कानुन, कार्यबिधि, मापदण्ड र आदेश जारी भई १२ वटा स्थानीय राजपत्रमा प्रकाशित गरिएको, अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद, राष्ट्रपति रनिङ्ग शिल्ड, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण, सडक स्तरोन्नति, शिखमा आवासीय, दानामा नमुना विद्यालय, नारच्याङमा हाइड्रो इञ्जिनियरीङको पठनपाठन सुरु हुनुलाई उपलब्धि मानेको छ ।

अध्यक्षले प्रशासकीय अधिकृत र वडा अध्यक्ष तथा प्रशासकीय अधिकृतले विषयगत शाखाका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने, सडकका मापदण्ड तोकिने, ठप्प भएको पर्यटन, मन्द भएको ब्यापार र बन्द रहेका उद्योगहरुको सवलीकरणका लागि न्युन करको दर कायम गरि छुट दिने, बेनी–जोमसोम, पोखरेबगर–चित्रे सडकलाई तिब्रता, जलविद्युत आयोजना निर्माणलाई पूर्णता दिन सहजिकरण गर्ने, स्थानीय पाठ्यक्रम तयार गरि लागू गर्ने, विपन्नको आयआर्जनमा जोड दिने, रोजगारीको सिर्जना गराउने नीति लिएको छ ।

एक वडा एक नर्सरी, एक घर एक करेसाबारी, कृषक पाठशाला, स्थानीय जातका पशुको नश्ल सुधार, अध्यक्ष कप खेलकुद प्रतियोगिता, अध्यक्षसँग एक विद्यालय एक हरित फुलबारी, उपाध्यक्षसँग सुत्केरी महिला तथा बच्चा भेटघाट, असल सासु बुहारी सम्मान, लागु पदार्थ नियन्त्रण कार्यक्रम सञ्चालन गर्न बजेट बिनियोजन गरेको छ ।

कर्मचारी कल्याण कोष स्थापना गर्न १५ लाख र प्रोत्साहन तथा पुरस्कारका लागि एक लाख रुपैयाँ बिनियोजन भएको छ । गाउसभाको अवसरमा उत्कृष्ट सिकाई उपलब्धी हासिल गर्ने दानाको ज्ञानप्रकाश माविलाई दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । अध्यक्ष पुनले आफ्नो पारिश्रमकिबाट घारकी पवित्रा खड्काको शिक्षाका लागि २५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।
गाउँसभाको उद्घाटन सत्रको कार्यक्रममा नेकपाका खड्ग गिरि, नेपाली काँग्रेसका बेलबहादुर पुर्जा, भुरुङ तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले गर्नुभएको थियो ।

पाउद्धारका वडा सदस्य धनबहादुर पाइजा गाउसभामा सहभागि हुन घोडा चढेर पोखरेबगर आउनुभएको थियो । बर्खासँगै सडक अवरुद्ध भएकाले परम्परागत यातायातका साधन घोडा चढेर गाउसभामा सहभागि हुन आएका पाइजाले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: