म्याग्दीमा एभोकाडो खेती सुरु

बेनी, ३ असार ः म्याग्दी जिल्लामा “घ्यू फल” भनेर चिनिने एभोकाडोको ब्यवसायिक खेती सुरु भएको छ ।

मंगला, मालिका र धवलागिरी गाउपालिकाको मध्य पहाडी क्षेत्रका कृषकले एभोकाडो खेती सुरु गरेका हुन् । परिक्षणका लागि रोपिएका बिरुवाले उत्पादन दिन थालेपछि ब्यवसायिक खेती सुरु गरेको मंगला गाउपालिका–४ बरंजाका रेशम बुढाथोकीले बताउनुभयो ।

केही वर्ष पहिले धनकुटाबाट ल्याएर रोपेको बिरुवाले राम्रो फल दिन थालेपछि १६ रोपनी पाखोमा २५० वटा बिरुवा लगाएको उहाँले बताउनुभयो । मंगला गाउपालिकाले २० जना भन्दा बढी कृषकहरुलाई अनुदानमा दुई हजार वटा एभोकाडोका बिरुवा वितरण गरेको छ ।

मालिका गाउपालिकाको वडा न.–२ रुममा चार हजार ५०० र वडा न. ३ डाडागाउँमा तीन हजार बिरुवा उपलब्ध गराएको गाउपालिकाले जनाएको छ । बिमको बाइन्दफाँट क्षेत्रमा एभोकाडो खेती स्थानीय बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष रेशम जुग्जाली लगायतका कृषक समूहले ५०० रोपनी झाडी फाडेर तयारी गर्नुभएको छ ।

सामुहिक रुपमा पाँच हजार एभोकाडोका बिरुवा रोप्ने तयारी गरेको वडा अध्यक्ष जुग्जालीले बताउनुभयो । “एभोकाडो खेती गर्नलाई बीस बर्ष भन्दा बढी समयदेखि बाँझो जमिनमा झाडी फाडेर खाडल खनेका छौ,” जुग्जालीले भन्नुभयो “लकडाउनमा गाउँमा फुर्सदीला भएका युवाहरुलाई परिचालन गरेका छौ ।”

मालिका–४ ओखरबोट र देविस्थानमा पनि चार हजार वटा एभोकाडोका बिरुवा वितरण गर्न लागिएको छ । मालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माका अनुसार एभोकाडो खेती विस्तार गर्न यस वर्ष रु. बीस लाख बिनियोजन भएको छ ।

धवलागिरी गाउपालिकाले पचास प्रतिशत अनुदानमा ताकममा चार हजार र मराङमा एक हजार ३०० बिरुवा वितरण गरेको छ । उपयुक्त हावापानी, बजारको सम्भावना, स्वास्थ्यव्रद्र्धक, छिटो र धेरै बर्षसम्म आम्दानी गर्न सकिने भएकाले एभोकाडो खेतीप्रति म्याग्दीका कृषकको आकर्षण बढेको हो ।

एभोकाडोका बिरुवा उत्पादन गर्ने पोखराको मञ्जुश्री नर्सरीका सञ्चालक पुस्कर विकका अनुसार यस वर्ष म्याग्दीमा पन्ध्र हजार एभोकाडोका बिरुवा रोपिएको छ । समुन्द्री सतहदेखि चार सय देखि एक हजार ७०० मिटर उचाईको पहाडी भूगोलमा हुने एभोकाडोको बिरुवाले रोपेको तेस्रो–चौथो वर्षबाट उत्पादन दिन सुरु गर्छ ।

प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडो उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि लाभादायक मानिन्छ । पचास वर्ष सम्म उत्पादन दिने एभोकाडोको एक वटा बोटमा वार्षिक २०० किलोग्राम सम्म फल लाग्ने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार एभोकाडो म्याग्दीमा भित्रिएको नयाँ जातको फलफुल हो । नेपालमा मेक्सिकन, ग्वाटेमिलन र भारतीय जातको एभोकाडो खेती हुन्छ । यो फलफुल मेक्सिको र अमेरिकामा उत्पत्ति भएको मानिन्छ । धनकुटाको पाख्रीबासमा २०२५ सालमा फल खान ल्याएको दानाको बिया उम्रिएपछि विस्तार भएको मानिन्छ ।

थोकमा दुई सय रुपैयाँ प्रतिकिलो र फुटकर ३५० देखि ४०० रुपैयाँ मूल्य पर्ने एभोकाडोको जुस बनाएर समेत उपभोग गर्न सकिन्छ । ठूला होटल, पर्यटक, विदेशबाट आएका र सहर बजारका बासिन्दा एभोकाडोका मुख्य उपभोक्ता हुन् ।

कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुन सम्म बोटमा राख्न सकिन्छ । कलमी र बिजु दुई बिधीबाट यसको बिरुवा उत्पादन गर्न सकिन्छ । बिजु बिरुवा रु. पचास र कलमी बिरुवा रु. १५० प्रतिगोटा मूल्य पर्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: