म्याग्दीका ४५ वटा विद्यालयमा भवन पुननिर्माणका लागि छनौट

बेनी, ४ असार । म्याग्दी जिल्लाका ४५ वटा विद्यालयको भवन पुननिर्माणका लागि छनौट भएका छन् ।

पाँच वर्ष अघिको भूकम्पका कारण जिर्ण बनेका विद्यालयका भवन पुननिर्माण हुन लागेको हो । जिसस प्रमुख देवेन्द्रबहादुर कटुवाल अध्यक्ष रहेको जिल्ला पुननिर्माण सहजिकरण समितिले गरेको सिफारिस अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन निर्माणका लागि छनौट गरेको हो ।

३२ वटा विद्यालयमा चार कोठे, दश वटामा दुई कोठे र तीन वटामा तीन कोठे भवन पुननिर्माणका लागि छनौट भएका प्राधिकरणको बेनी स्थित शिक्षासँग सम्बन्धित कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी बिष्णु रिजालका अनुसार २१ वटा विद्यालयमा शौचालय र २१ वटै विद्यालयमा खानेपानी सुबिधाका योजना निर्माणका लागि छनौट भएका छन् । छनौट भएका विद्यालयहरुसँग निर्माणको काम अघि बढाउन शुक्रबारदेखि सम्झौताका लागि आउन कार्यालयले सूचना जारी गरेको छ ।

अन्नपूर्ण गाउपालिकाका विद्यालयलाई असार ५ गते, रघुगंगाकालाई ६ गते, बेनी नगरपालिकामा ७ गते, मंगलामा ८ गते, मालिकामा ९ गते र धवलागिरी गाउपालिकाका विद्यालयलाई असार १० गतेको समय तोकेको कार्यालयका प्राबिधिक राजकुमार शाहीले बताउनुभयो ।

४ कोठे भवन निर्माणका लागि छनोट भएका विद्यालयहरुमा हिमाञ्चल मावि, शिख मावि, प्रभा मावि, ज्ञानप्रकाश मावि, अमर मावि चिमखोला, अमर मावि पाखापानी, महेन्द्र मावि झि, ज्ञानोदय मावि, रघुगंगा मावि, महादेव मावि छन् ।

सरस्वती मावि तातोपानी, जनकल्याण मावि पुलाचौर, गलेश्वर मावि तोरीपानी, थाकनपोखरी आधारभूत विद्यालय, अर्जुन मावि भकुण्डे, रामचन्द्र मावि अर्जम, मंगला मावि, दिपशिखा मावि, महेन्द्ररत्न मावि, त्रिभुवन मंगला मावि र थाइवाङ आधारभूत विद्यालयमा पनि चार कोठे भवन निर्माण हुने भएका छन् ।

यसैगरी मालिकाको सिद्ध आधारभूत, भगवति आधारभूत, ओखरबोट मावि, निस्कोट मावि, धवलागिरीको किसानी मावि, जनविकास मावि, जनजागृति मावि, भुमे आधारभूत, धौलागिरि आधारभूत र चन्द्रज्योति मावि रहेका छन् ।

जनआदर्श आधारभूत कोटगाउ, बालप्रिय आधारभूत भकिम्ली र शिशुकल्यान आधारभूत विद्यालय निस्कोटमा तीन कोठे भवन निर्माणका लागि छनौट भएको छ । पोखरेबगर आधारभूत, शिद्धार्थ ज्ञानमन्दिर आधारभूत, जनसुन्दर, बालमन्दिर, मसुङडोले, सरस्वती, शिवालय, मालिका, जनज्योती र जगन्नाथ आधारभूत विद्यालय दुई कोठे भवन निर्माणमा छनौट भएका छन् ।

विद्यालय भवन निर्माणका लागि प्राबिधिकले तयार पारेको लगत ईस्टिमेट अनुसार बजेट बिनियोजन हुने कार्यालयले जनाएको छ । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरि लागत अनुमान तयार पारिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: