छ्यारछ्यारेमा रेबिजबाट १८ वटा बंगुर मरे

बेनी, ४ असार । म्याग्दीको मालिका गाउपालिका–६ दरवाङको छ्यारछ्यारेमा रेबिज रोगबाट बंगुर मर्न थालेका छन् ।

मरेका बंगुरमा रियाल काड्ने, थरथर काम्ने, पानी देखि डराउने, तर्सिने र दानापानी नखाने लक्षण देखिएको छ । पछिल्लो केही दिनयता दैनिकजसो बंगुर मर्न थालेको कृषकले बताएका छन् ।

गाउपालिकाका र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्राबिधिकहरुले नमुना संकलन गरेर परिक्षणका लागि पोखरा स्थित पशु रोग अन्वेषण प्रयोगशालामा पठाएका थिए ।

प्रयोगशालाका प्रमुख डाक्टर केदारराज पाण्डेले बिहीबार नमुना परिक्षणका क्रममा छ्यारछ्यारेका बंगुरमा रेबिज रोग लागेको पुष्टि भएको बताउनुभयो । सो ठाउँमा हालसम्म १८ वटा विभिन्न उमेर समूहका बंगुर मरेका लालीगुरास बंगुरपालक कृषक समूहका अध्यक्ष ताराबहादुर पटेलले बताउनुभयो ।

पटेलको ३ वटा ब्याउने र ५ नब्बे किलो तौलका पाँच वटा, कल्पना खत्रीका ५ महिनाका ७ वटा र अन्य कृषकको तीन वटा बंगुर मरेका छन् । छ्यारछ्यारेको फार्ममा करिब २०० वटा बंगुर पालिएका छन् । मालिका–३ अदिभारमा पनि ६ वटा बंगुर मरेको जानकारी आएको छ । त्यहाँ करिब ९० वटा बंगुर छन् ।

करिब एक महिनाअघि छ्यारछ्यारेमा बहुला कुकुर देखिएको थियो । सोही कुकुरले रेबिज सारेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख पशु चिकित्सक नारायण कुशुमले बताउनुभयो । उहाँका अनुसार रेविज देखिएका ठाउँमा फैलिन नदिन खोप लगाउने तयारी गरिएको छ ।

सबै बंगुरहरुलाई खोप लगाउन पुग्ने गरि एक हजार १०० डोज रेविज खोप निशूल्क उपलब्ध भएको छ । जिल्लामा खोप आईपुग्ना साथ मालिका गाउपालिकासंग समन्वय गरेर लगाउन सुरु गरिने कुशुमले बताउनुभयो । रेबिज प्राणघातक रोग हो ।

यो रोग पशुबाट मानिसमा समेत सर्ने जोखिम हुन्छ । बंगुरका साथै उपचारका क्रममा लसपस भएका प्राबिधिकहरुलाई पनि रेविज विरुद्ध खोप लगाउन सल्लाह दिइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: