चुच्चे नक्सा संसदबाट अनुमोदन भएको खुसीयालीमा नेकपाको दिप प्रज्वलन

बेनी, ३१ जेठ । नेपाली भू–भाग कालापानी, लिम्पीयाधुरा र लिपुलेक सहितको नक्सा र निसान छाप जारी भएकोमा नेकपाका कार्यकर्ताहरुले बेनीमा दिप प्रज्वलन गरेर खुसीयाली मनाएका छन् ।

भारतले कब्जा गरेको नेपाली भूमि संबैधानिक रुपमा नेपालको नक्सामा समेटिएको खुसीयालीमा नेकपा, राष्ट्रिय युवा संघ र अनेरास्ववीयू म्याग्दीले जिल्ला प्रशासन कार्यालय अगाडी दिप प्रज्वलन कार्यक्रम आयोजना गरेका थिए ।

प्रतिनिधिसभाको बैठकले नयाँ नक्सा समेट्ने बिधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको छ । नयाँ नक्साको चित्र बनाएर त्यहाँ दिप प्रज्वलन गरिएको राष्ट्रिय युवा संघ म्याग्दीका सहसंयोजक सन्दिप खत्रीले जानकारी दिनुभयो ।

दिप प्रज्वलन कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

भारतले कब्जा गरेको कालापानी, लिम्पीयाधुरी र लिपुलेक ऐतिहासिक तथ्य र प्रमाणको आधारमा सो भूमि समेटेर सरकारले नेपालको आधिकारिक नक्सालाई संबिधानमा समेटेको छ ।

राष्ट्रिय स्वाधिनताको मुद्दामा नेपालका सबै राजनीतिक शक्ति एकतालाई कायमै राखेर भूमि फिर्ता ल्याउन जुट्नुपर्ने नेताहरुले बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न राजनीतिक दलका नेताहरुले कब्जा गरेको भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्ने बताउनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: