बेनी नगरपालिकाको ५६ औ कार्यपालिका बैठकका निर्णय सार्वजनिक

बेनी, २९ जेठ । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट निर्माणको तयारीलाई तिब्र बनाएको छ ।

कार्यपालिकाको बिहीबार बसेको ५६ औ बैठकले बजेटको सिमा निर्धारण र राजस्वको स्रोत अनुमान सम्बन्धी प्रस्ताव पारित गरेको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा रहेको बजेटको स्रोत अनुमान तथा सिमा निर्धारण र उपप्रमुख सञ्जु बरुवालको नेतृत्वमा रहेको राजस्व परामर्श समितिले कार्यपालिका बैठकमा पेश गरेको प्रस्ताव पारित भएको हो ।

आगामी आर्थिक वर्षमा चार करोड ३ लाख २५ हजार रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरिएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले आगामी वर्ष ५६ करोड ८० लाख ४३ हजार २६४ रुपैयाँ बराबरको बजेट ल्याउने गरि सिमा निर्धारण गरेको छ ।

बस्ति स्तरमा कोरोना कहरका बीच योजना तर्जुमा गरिएको छ । संकलित योजना विषयगत समितिमा छलफलको तयारी भएको छ । संबिधानमा स्थानीय तहले हरेक वर्ष असारको १० गते भन्दा अघि बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था छ ।

यसैगरी कार्यपालिका बैठकले नगर क्षेत्रका दलित समुदायका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न लक्षित छात्रवृत्ति कार्यान्वयन कार्यबिधि २०७७ पारित गरेको छ । गत वर्षको नीति तथा कार्यक्रममा नगर क्षेत्रका दलित विद्यार्थीलाई कक्षा ११ र १२ पढ्न सहयोग गर्ने उल्लेख थियो ।

आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि संघीय सरकारले पठाएको ५१ लख रुपैयाँ  ३, ५ र ९ बाहेकका वडाका योजनामा परिचालन गर्ने निर्णय भएको छ । यस वर्ष भकिम्ली, पुलाचौर र घतानमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १९ लाख रुपैयाँ बजेटका योजना सञ्चालन भएका छन् ।

यस्तै बेनी नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा एक करोड ९ लाख ४८ हजार ४६१ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले १ करोड रुपैयाँ बिनियोजन गरेको कोषमा साढे नौ लाख रुपैया जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघ संस्थाले सहयोग गरेका हुन् ।

कोषमा भएको रकमबाट कोरोना रोकथाम, नियन्त्रण, राहत र व्यवस्थापनको काममा हालसम्म ६८ लाख २३ हजार १२८ रुपैयाँ खर्च भएको सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।

दश वेडको आइसोलेशन स्थापना गर्न १७ लाख ८३ हजार, दश वटा वडाका एक हजार ३८२ घरधुरीलाई खाद्यान्न राहत वितरण गर्न ३६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च भएको छ । क्वारेन्टिनमा बसेकालाई खाना तथा व्यवस्थापनमा छ लाख ३१ ह्जार २०८ र सामान खरिदमा एक लाख ४८ हजार ७५३ रुपैयाँ खर्च भएको छ । स्वमसेवक परिचालनमा दुई लाख पचास हजार खर्च भएको छ । नगरपालिकाले नाकामा अलपत्र परेकाहरुको उद्धारका लागि सवारी साधनको व्यवस्था गरेको छ ।

बैठकले बेनी नगरपालिका ३ स्वारी र मंगला गाउपालिका ३ दह जोड्ने झोलुङ्गे पुल निर्माणका लागि संघीय सरकारमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: