कोरोनालाई खेलाची नठानौ

सन्तोष गौतम
नेपालमा कोरोना (भाइरस) रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएको बुधबार ७८ दिन पुरा भएको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनलाई बुधबार बसेको मन्त्रीपरिषद् बैठकले खुकुलो बनाउने निर्णय गरेको छ । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको अवस्थामा नेपालमा कोरोना महामारी फैलिदो क्रममा छ । सामाजिक वितृष्णा, ब्यापारिक दवाव र आर्थिक संकटको खतरालाई मध्यनजर गरेर जनजिवन सहज बनाउन सरकारले सर्त सहित मापदण्ड पालना गरेर आर्थिक र विकास गतिबिधिलाई खुकुलो पारेको हो । बुधबार सम्म नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ३६४ जना पुगेको छ । पछिल्लो एक हप्ता यता दैनिक दुई सय जना भन्दा बढीका दरले कोरोना संक्रमित बढीरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ । कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ ।
अहिलेसम्म पीसीआर विधिबाट एक लाख १० हजार सात सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७२ हजार आठ सय ८० को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीबार विधिबाट चार हजार चार सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार आठ सय २२ जनाको नमुना परीक्षण गरिएको छ । हिजोको तथ्याङ्क अनुसार क्वारेन्टाइनमा एक लाख ७२ हजार दुई सय ६६ जना बसेका छन् । तीन हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । संक्रमितको संख्या बढ्दो क्रममा रहेपनि सरकारले पछिल्लो पटक गरेको निर्णयलाई मोडालिटी परिवर्तन गरेको रुपमा बुझ्नुपर्ने हुन्छ । कम जोखिम भएको जिल्लामा जोर बिजोर प्रणाली अनुसार गाडी सञ्चालन गर्ने निर्णय गरेको छ । सुरक्षाको मापदण्ड अपनाएर पसल पनि खोल्न दिने निर्णय भएको छ ।
पछिल्लो समय नेपालमा भारतबाट आएकाहरुमा बढी मात्रामा कोरोना देखिएको छ । यसबाट म्याग्दी जिल्ला पनि अछुटो रहेको छैन् । म्याग्दीमा पनि तीन जना कोरोना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । अर्कोतर्फ सरकारले खाडी र अन्य देशमा रहेका नागरिकलाई पनि स्वदेश फर्काउने तयारी गरेको छ । ती देशमा पनि कोरोनाको जोखिम छ । भारत र जोखिमयुक्त जिल्लाबाट आएकाहरुको ब्यवस्थापन मुख्य चुनौति बनेको छ । उनिहरुलाई क्वारेन्टिनमा राख्ने र परिक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्र घर जाने दिने कार्यबिधिको कार्यान्वयन कमजोर भएको छ । क्वारेन्टिनमा आएर बसेको चौथौ , पाँचौ दिनमा स्वाब संकलन गरेर पठाउने अनि हप्ता दिनेपछि रिजल्ट आउन थालेको छ । पोजेटिभ आएकालाई १४ दिनसम्म आइसोलेशनमा राखेर उपचार गर्दा लक्षण नदेखिए घर पठाउन थालिएको छ । क्वारेन्टिनमा बसेकाहरुलाई पनि १४ दिन पुगेपछि घर पठाउन थालिएको छ । यसो गर्दा कोरोना संक्रमण मुक्त भएर मात्र घर पठाउने अवस्थाको ग्यारेन्टि हुन सकेको छैन् । त्यसैले कोरोना परिक्षणको दर बढाउनका लागि धौलागिरि क्षेत्रका लागि बागलुङको अस्पतालमा पिसिआर मेसिन राख्ने, क्वारेन्टिन र आइसोलेशनलाई व्यवस्थित बनाउदै निसंत्रमितलाई मात्र घर पठाउने र संक्रमितलाई निको पारेर मात्र घर पठाउने व्यवस्था मिलाउनुपर्छ । कोरोनालाई खेलाची ठानेर लापरबाही गरियो भने अहिलेसम्मको मेहनत र दुख खेर जान्छ । कोरोना समुदाय स्तरमा फैलियो भने झन भयाभह अवस्था आउन सक्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: