दरवाङको क्वारेन्टिनमा बसेका युवा नदीमा वेपत्ता

बेनी, २० जेठ । म्याग्दीको मालिका गाउपालिका–६ दरवाङ स्थित क्वारेन्टिनमा बसेका एक युवा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका छन् ।

दरवाङको छ्यारछ्यारेमा मालिका गाउपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा बसेका धौलागिरी गाउपालिका–७ धारापानीका १९ वर्षीय राजेश थापा वेपत्ता भएका प्रहरीले जनाएको छ ।
दरवाङका वडा अध्यक्ष सन्तोष सुवेदीका अनुसार थापा सहित क्वारेन्टिनमा बसेका ७ जना नुहाउनका लागि दश मिनेटको समय लिएर नजिकै रहेको म्याग्दी नदी किनारको धारामा गएका थिए ।

उनी पौडी खेल्ने भन्दै खोलामा हाम फालेका थिए । म्याग्दीका डिएसपी किरनंज कुँवरले थापा वेपत्ता भएको पुष्टि गर्नुभयो । ‘वेपत्ता भएको हो,’ उनले भने ‘पौडी खेल्ने क्रममा डुवेको वा भागेको भन्ने विषयमा अनुसन्धान जारी छ ।’ प्रहरी र स्थानीयबासीहरु वेपत्ताको खोजीमा जुटेका छन् ।

थापाका आफन्तहरुले भने कमजोर सुरक्षा र व्यवस्थापकीय लापरबाही भएको आरोप लगाएका छन् । ‘क्वारेन्टिनमा बस्नेहरुको सुरक्षाको ग्यारेन्टि हुुनुपर्दथ्यो,’ राजेशका दाजु किरन थापाले भन्नुभयोे ‘क्वारेन्टिनमा बसेकालाई बाहिर निस्कन दिनुनै कमजोरी हो ।’

क्वारेन्टिन स्थापना भएको जनप्रिय माविको भवनमा घेराबार छैन् । थापा छ महिनाअघि रोजगारीको खोजीमा भारत गएका थिए । कोरोनाको जोखिम र लकडाउनका कारण रोजीरोटी गुमेपछि भारतीय सिमानामा आएका उनलाई उद्धार गरेर बेनी ल्याइएको छ ।

छयारछ्यारेको क्वारेन्टिनमा मालिका गाउपालिकाका १७ र धवलागिरिका एक जनालाई राखिएको थियो । पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएपछि कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र म्याग्दीको निर्णय अनुसार दरवाङको क्वारेन्टिनमा सारिएको थियो ।

म्याग्दीमा हाल भारतबाट आएका १२२ जनालाई विभिन्न ठाउँको क्वारेन्टिनमा राखिएको छ । गत बिहीबार कोरोना संक्रमण पुष्टि भएका मालिका गाउपालिका–४ महभिरका ३० वर्षीय युवाको बेनीको शैक्षिक तालिम केन्द्रमा स्थापना भएको आइसोलेशनमा राखेर उपचार गरिएको छ । संक्रमित युवालाई जेठ ९ गते सुनौली नाकाबाट उद्धार गरेर बेनी ल्याइएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: