जलविद्युत आयोजनामा काम गर्न आएका मजदुरलाई स्थानीयले फर्काए

बेनी, २० जेठ । कोरोना (भाइरस) सर्ने डरले म्याग्दीको अन्नपूर्ण गाउपालिकाको नारच्याङ र घारका बासिन्दाले जलविद्युत आयोजनामा काम गर्न आएका मजदुरलाई फर्काएका छन् ।

नारच्याङको ११० मेगावाट क्षमताको निलगिरि हाइड्रो र १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाका मजदुरलाई फर्काएका हुन् । नाकाबाटै छिर्न नदिएपछि अलपत्र परेका मजदुरहरु चाउचाउ र चिउराको भरमा सडकमै बसेका छन् । निलगिरी हाइड्रोको सुरुङमा काम गर्न सल्यानबाट आएका प्रेम बस्नेतले काम गर्ने ठाउँमा जान नदिएपछि अलपत्र परेको बताउनुभयो ।

‘ठेकेदारले बोलाएपछि गृह मन्त्रालयको अनुमति लिएर पोखरामा आरडिटी परिक्षण गरेर आएका हौ,’ उहाले भन्नुभयो ‘चार दिनअघि घरबाट हिडेदेखि खाना खान पाएका छैनौ ।’ बस्नेतको नेतृत्वमा ३० जना मजदुरहरु तीन वटा माइक्रोबस रिजर्भ गरेर सोमबार बिहान नारच्याङ पुगेका थिए ।

ठेकेदारले स्थानीयसँग वार्ता गरेर मजदुरलाई काममा लगाउने प्रयास भैरहेको बताएका छन् । ‘ठेकेदारले पर्ख भन्छन,’ मजदुर सुरेश बस्नेतले भन्नुभयो ‘गाउँलेले छिर्नै दिदैनौ भन्छन् ।’

सल्यानबाट पचास हजार रुपैयाँ तिर्ने सहमतिमा माइक्रो रिजर्भ गरेर आएका थिए । उनिहरुलाई यातायात ब्यवसायीले बेनी देखि नारच्याङ पुगेको थप १२ हजार रुपैयाँ मागेका छन् । फर्कनका लागि ७५ हजार मागेको मजदुरले गुनासो गरे ।

घर फर्कनका लागि आफूहरुको साथमा भाडा तिर्ने, खाजा र खाना खाने पैसा नभएको मजदुरहरुले बताएका छन् । उर्जा मन्त्रालयको सिफारिस र गृह मन्त्रालयको अनुमतिमा निलगिरिको ठेकेदार सिई कन्ट्रक्सनले सल्यानका साथै सिन्धुपाल्चोक र नुवाकोटबाट थप १५ जना मजदुर ल्याएको छ ।

घारखोला जलविद्युत आयोजनाको ठेकेदारले ल्याएका १५ जना मजदुर पनि स्थानीयले बिरोध गरेपछि गाउपालिकाको केन्द्र पोखरेबगरमा गाडीभित्रै बसेका छन् ।

नारच्याङका बासिन्दाहरुले जलविद्युत आयोजनाका कारण कोरोनाको जोखिम बढेको भन्दै ५० दिनदेखि गाउँ भित्र्ने सबै नाकामा जाली र गरालो हालेर तालाचाबी लगाएका छन् । युवा क्लव, आमा समूह र गाउँका अगुवाहरुले नाकामा निगरानी गर्न स्वमसेवक खटाएका छन् ।

जोखिमयुक्त जिल्लाबाट आएका मजदुरहरु क्याम्पमा नबसी गाउँ डुल्न थालेकाले बाहिरबाट आउने सबैलाई प्रतिबन्ध लगाएको नारच्याङका वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । ‘सामाजिक दुरि कायम गर्ने र मजदुरलाई क्याम्पमै राखेर काममा लगाउने नियम पालना नभएपछि गाउँलाई सिल गरेका हौ,’ उहाले भन्नुभयो ।

सरकारले जलविद्युत लगायतका ठूला र दिर्घकालिन महत्व राख्ने आयोजनालाई निरन्तरता दिने नीति लिएपनि प्रभावकारी समन्वय नहुँदा कार्यान्वयनमा समस्या भएको छ । नारच्याङको एउटै वडामा १६७ मेगावाट क्षमताका चार वटा जलविद्युत आयोजना निर्माण भैरहेका छन् । थप ६ वटा आयोजना प्रक्रियामा छन् ।

छिमेकी वडा दानामा २०० केभी क्षमताको सबस्टेशन र त्यहाँबाट पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको विद्युत प्रशारण लाइन पनि निर्माण अन्तिम चरणमा छ । कोरोना रोकथामका लागि सरकारले चैत ११ गते लकडाउन घोषणा गरेलगत्तै घर गएका मजदुरहरु काममा फर्कन थालेका छन् ।

तर स्थानीय, जलविद्युत आयोजना र ठेकेदारबीच मजदुरहरुको सुरक्षा, आवत जावत र व्यवस्थापनका विषयमा बिवाद बढेको छ । धेरै जसो आयोजनाका मजदुरहरु घर गएकाले प्रभावित भएका छन् ।

छलफलको माध्यमबाट आयोजना पनि चालू हुने गाउँले पनि सुरक्षित हुने वातावरण बनाउन पहल गरिरहेको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: