बसाइसराई रोक्न सांसद केसीको जोड

बेनी, १९ जेठ । म्याग्दी क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशका सांसद बिनोद केसीले बसाइसराई रोक्ने योजनामा जोड दिनुभएको छ ।

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै सोमबारको प्रदेशसभा बैठकमा सांसद केसीले विकासका योजनालाई दिर्घकालीन विकासका आयोजनामा प्राथमिकता दिनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

‘राज्यले गाउँमा सडक, विजुली, खानेपानी, भवन, शिक्षा, स्वास्थ्य, सञ्चार सुबिधा विस्तार गर्दै लगेको छ,’ उहाँले भन्नुभयो ‘तर बसाइसराइका कारण गाउमा उपलब्ध विकासका पुर्वाधारको उपभोग गर्ने जनसंख्या घट्दै जानु बिडम्बना हो ।’

गाउँलाई बस्न लायक बनाउन गुणस्तरीय शिक्षा, स्वास्थ्यको व्यवस्थाका साथै विकासका पूर्वाधारलाई दिगो बनाउनुपर्नेमा सांसद केसीले बताउनुभयो । विकास आयोजनालाई रोजगारी र ग्रामिण अर्थतन्त्रको प्रर्वद्धनमा जोड्नुपर्ने उहाँको सुझाव छ ।

सांसद केसीले गण्डकी प्रदेस सरकारले ल्याएको नीति तथा कार्यक्रम समय सान्दर्भिक र उपयुक्त भएको बताउनुभयो । एकिकृत वस्ति विकासको अवधारणा कार्यान्वयनमा लैजानुपर्ने उहाँको सुझाव छ ।

यसैगरी कोरोनाको कहरले सिर्जना गरेको समस्या समाधानका लागि रोजगारि सिर्जना, उत्पादन र प्राकृतिक स्रोत साधनको परिचालनको माध्यमबाट आयआर्जन सुधारमा जोड दिनुपर्ने बताउनुभयो । विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धारमा संघीय सरकार र स्थानीय तहहरुसंग समन्वय गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: