म्याग्दी क्याम्पसमा ५१ जना क्षमताको क्वारेन्टिन स्थापना

बेनी, ९ जेठ । म्याग्दीमा क्वारेन्टिन (एकान्तबास)को क्षमता विस्तार गरिएको छ । भारतीय सिमानामा अलपत्र परेर घर फर्कीएकाहरुलाई राख्नलाई कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको संयोजनमा एकान्तबासको क्षमता बढाइएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रबार थप ५१ जना क्षमताको क्वारेन्टिन बनाइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० जना सहित जिल्लाभर १७३ जना क्षमताको एकान्तबास बनाइएको थियो ।

भारत लगायतका मुलुकबाट आउनेहरुलाई सुरक्षित रुपमा राख्न, व्यवस्थापन गर्न र कोरोना फैलिन नदिन एकान्तबासको क्षमता विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

एकान्तबास बनाउन म्याग्दी बहुमुखी क्याम्पसले भवन उपलब्ध गराएको छ । क्याम्पसका कोठामा खाट, डसना, तन्ना, सिरक, रिसानी व्यवस्थापन गरेर एकान्तबास बनाइएको छ ।

यसअघि माउण्ट एभरेष्ट आवासीय माविको हिलसाइडमा रहेको भवनमा बनाइएको एकान्तबास भने हटाइएको छ । मापदण्ड अनुसार दुरि कायम र संक्रमण फैलिन नपाउने गरि व्यवस्थित किसिमको एकान्तबास बनाएको प्रजिअ ढकालले बताउनुभयो ।

कोरोना (भाइरस) नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र रोजगारी गुमेपछि भारतीय नाकामा आएर अलपत्र परेका ११ जना म्याग्देलीहरुलाई शुक्रबार सम्बन्धित जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहहरुसंग समन्वय गरेर उद्धार गरेर बेनी ल्याइएको छ । उनिहरु सुनौली नाकाबाट आएका हुन् ।

महेन्द्रनगरमा १० जना, झापाबाट ८ जना र कैलालीको गौरीफण्टा नाकाबाट २९ जना म्याग्देलीहरुलाई शनिबार बिहानसम्म बेनी ल्याइ पुराउने तयारी छ । ६० जना भन्दा बढी सम्पर्कमा आएका छन् । म्याग्दी आउनेहरुको नाकामा द्रुत परिक्षण गर्दा कोरोना रिपोर्ट नेगेभिट देखिएको छ ।

म्याग्दीमा ल्याएपछि पिसिआर र आरडिटि दुबै बिधिबाट कोरोना परिक्षण गरिने प्रशासनले जनाएको छ । रघुगंगा गाउपालिकाको भगवतिका ४ जना भारतबाट नेपाल छिर्न नसक्दा उद्धारमा समस्या भएको छ । अलपत्र परेकाहरुलाई पनि रुपन्देही प्रशासनसंग समन्वय गरेर नेपालतर्फ ल्याउन पहल भइरहेको छ ।

एकान्तबास बनाउन सेनाको श्रीबक्स गुल्म, शसस्त्र प्रहरीको गलेश्वर बेस क्याम्प, जिल्ला प्रहरी कार्यालयलाई अनेरास्ववीयू र नेविसंघका स्वमसेवकहरुले सहयोग गरेका थिए । प्रहरी, सेनाको क्याम्प, क्याम्सको छात्राबास र होटलका खाट लगेर एकान्तबासमा राखिएको छ । अलपत्र परेर भारतबाट आउन लागेका मध्य विपन्नलाई केही स्थानीय तहले गाडी भाडा समेत उपलब्ध गराउने जनाएका छन् ।

बेनी नगरपालिकाले गाडीभाडा र खाना खुवाउने व्यवस्था गर्ने बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । बेनीका एकान्तबास भरिएपछि अन्य पालिकाका एकान्तबासमा राखिने भएको छ ।

अस्पताल नजिक, सुरक्षा निकाय र चिकित्सकको नजिक पहुँच भएकाले सकेसम्म धेरै जानलाई बेनीकै क्वारेन्टिनमा राख्ने कमाण्ड पोष्टको योजना छ ।

बेनी नगरपालिकाका लक्ष्मण केसीले कामको खोजीमा भारतको हरिद्धार पुगेको तेस्रो दिनदेखि बन्दाबन्दीमा परेको बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: