भारतीय नाकामा अलपत्र परेकाहरुको उद्धार गर्न थालियो

बेनी, ९ जेठ ः कोरोना (भाइरस) नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र रोजगारी गुमेपछि भारतीय नाकामा आएर अलपत्र परेका म्याग्देलीहरुको उद्धार गर्न थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सम्पर्कमा आएकाहरुलाई सम्बन्धित जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहहरुसंग समन्वय गरेर उद्धार गर्न थालेको हो । शुक्रबार बिहान सुनौली नाकाबाट १० जनाको उद्धार गरेर बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

उनिहरुलाई बेनी नगरपालिकाले व्यवस्थापन गरेको न्यु वेष्ट पोइन्ट आवासीय मावीको क्वारेन्टिन (एकान्तबास) मा राखिएको छ । प्रजिअ ढकालका अनुसार महेन्द्रनगरमा १० जना, झापाबाट ८ जना र कैलालीको गौरीफण्टा नाकाबाट २६ जना म्याग्देलीहरुलाई जिल्लामा ल्याउन लागिएको छ ।

भारतको हरिद्धारबाट फर्कन लाग्नुभएका बेनी नगरपालिकाका लक्ष्मण केसीले घरबाट पुगेको तेस्रो दिनमै बन्दाबन्दी भएपछि करिब दुई महिना अलपत्र परेर घर आउन लागेको बताउनुभयो । भारतमा अलपत्र परेकाहरुलाई उद्धार गरेर ल्याएपछि राख्नका लागि क्वारेन्टिनको क्षमता समेत बढाउन लागिएको छ ।

म्याग्दीमा हाल १७३ जना क्षमताको क्वारेन्टिन र १५ शैयाको आइसोलेशन तयार पारिएको छ । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा ५० जना क्षमताको एकान्तबास बनाउन लागिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: