पाँच दिनमा बेनीका ९८ खाद्यान्न पसलको अनुगमन

बेनी, २ जेठ । दैनिकजसो नियमित बजार अनुगमन भएपछि म्याग्दीको बेनी बजारका ब्यवसायी सचेत भएका छन् ।

स्थानीय प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनलाई आक्रामक बनाएपछि ब्यवसायीले सुधार गर्न थालेका छन् । पसलको बोर्ड, मूल्य सूची राख्ने र अद्यावधिक गर्ने तथा दर्ता प्रक्रिया सुरु गर्नुका साथै म्याद नाघेका सामान हटाएका हुन् ।

गत हप्ता प्रदेश स्तरीय टोलीले गरेको अनुगमनका क्रममा बेनीको बजार भद्रगोल भएको तथ्य सार्वजनिक भएपछि सोमबारदेखि नियमित रुपमा सघन अनुगमन गरिएको थियो । लगातार पाँचदिनसम्म बेनीको सबै भागमा खुलेका ९८ वटा पसलको अनुगमन गरिएको छ ।

हुलाकचोकबाट सुरु भएको सघन अनुगमन शुक्रबार मंगलाघाट पुगेर सकिएको हो । घरेलु तथा साना उद्योग, प्रशासन, प्रहरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघका प्रतिनिधिले बजार अनुगमन गरेका थिए ।

खाद्य सामग्रीहरुको बिक्री वितरण गर्ने पसलहरुको सघन अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहनचन्द्र सुवेदीले बताउनुभयो । अखाद्य र म्याद गुज्रीएका खाद्यबस्तुको बिक्री वितरण नहोस भनेर बजार अनुगमन गरिएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा जफत गरिएको दुई क्विटल म्याद नाघेका सामग्रीहरु नष्ट गरिएको छ । पेय पदार्थ, बच्चाहरुले खाने लेयर्स, कुरकुरे, आटा, चिउरा र मिठाइजन्य बस्तु म्याद नाघेको पाइएको सुवेदीले बताउनुभयो ।

उद्देश्य विपरित सञ्चालन भएका दुई वटा पसललाई बन्द गराइएको थियो । यसअघिका तुलनामा यसपालि सघन रुपमा गरिएको अनुगमन प्रभावकारी देखिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो । बजार अनुगमनलाई ग्रामिण बजार क्षेत्रमा केन्द्रित गरिने भएको छ ।

बजार अनुगमन निरन्तर हुन थालेपछि केही ब्यवसायीहरुले भने आतंकित बनाएको र अनुगमन गर्न यो समय उपयुक्त नभएको टिप्पणी गरेका छन् । खुद्रा ब्यापारिहरुले डिलरले म्याद सकिने बेलाको सामान आफूहरुलाई विभिन्न स्किमको बाहनामा बिक्री गर्न लगाउने गरेको गुनासो गरेका छन् ।

विभिन्न कम्पनीको डिलर समेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले लकडाउनका कारण उद्योगको गाडी नआएकाले म्याद सकिएका सामान बिक्रेताकहाँबाट फिर्ता गर्न नसकिएको बताउनुभयो ।

अनुगमनको विषयमा संघका पदाधीकारीबाट भएको टिप्पणीलाई अध्यक्ष कर्माचार्यले व्यक्तिगत भएको प्रतिक्रिया दिनुभयो । अनुगमनबाट ब्यवसायी त्रसित हुन नपर्ने समेत उहाँको भनाई छ ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी हुन सक्ने भएकाले बजार अनुगमनलाई सघन रुपमा निरन्तरता दिने स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: