अन्नपूर्णका कृषकलाई यान्त्रिक हलो वितरण

पोखरेबगर, ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई यान्त्रिक हलो (मिनिटेलर) वितरण गरेको छ ।

कृषि उपजको उत्पादन लागत र श्रम घटाउन पचास प्रतिशत अनुदानमा कृषक समूहहरुलाई १५ वटा यान्त्रिक हलो वितरण गरेको हो । ५२ हजार रुपैयाँ लागत पर्ने यान्त्रिक हलो कृषक समूहलाई पचास प्रतिशत अनुदानमा वितरण गरिएको गाउपालिकाको कृषि अधिकृत श्यामराज क्षेत्रीले बताउनुभयो ।

७.५ हर्ष पावर क्षमताको मिनिटेलर वितरण गरिएको हो । कृषकको सुबिधा, श्रम र लागत घटाउन मिनिटेलर वितरणमा गरिएको उहाँले बताउनुभयो । घारमा ४, हिस्तानमा ३, राम्चेमा ३, दोवामा २ र ठूलोबगरका एक वटा कृषक समूहलाई मिनिटेलर उपलब्ध गराइएको छ ।

नारच्याङ र शिखका कृषकलाई गत वर्षनै यान्त्रिक हलो वितरण गरिएको थियो । हिस्तान दोसल्लेका कृषक प्रेमलाल मगरले खेतबारी जोत्नका लागि यान्त्रिक हलो सजिलो र छिटो हुने बताउनुभयो ।

गोरुले जोत्दा दिनभरि लाग्ने खेतबारी यान्त्रिक हलोले एकै घण्टामा जोत्न सकिने मगरले बताउनुभयो । गोरु पाल्न नपर्ने र लागत पनि कम पर्ने उहाँको अनुभव छ । गोरु र हली खोज्ने हैरानी हटेको छ ।

आवश्यकताका आधारमा समूहका सदस्यहरुबाट भाडा लिएर आलोपालो गरेर यान्त्रिक हलोको प्रयोग गरिने दोसल्ले सुन्तला जात कृषक समूहका खगरबिर पाइजाले बताउनुभयो ।

पोखरेबगरमा एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले कृषकहरुलाई यान्त्रिक हलो वितरण गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: