राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मुक्तिमार्ग माविलाई

सेते तिलीजा पुन÷सुरेन गुरुङ
शिख, ६ फागुन । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शिखमा सोमबार सम्पन्न पालिका स्तरीय अन्तर मावि (छात्र÷छात्रा) दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा घारको मुक्तिमार्ग मावि बिजयी भएको छ ।

९ वटा स्वर्ण, चार वटा रजत र तीन वटा कास्य गरि कुल १६ वटा पदक जित्दै प्रथम भएको मुक्तिमार्गले रनिङ्ग शिल्ड, ट्रफि, प्रमाणपत्र र मेडल सहित नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । गत वर्षको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड बिजेता नारच्याङको प्रभा मावि छ वटा स्वर्ण, ५ वटा रजत र ५ वटा कास्य पदक जित्दै उपबिजेता भएको छ ।

५ वटा स्वर्ण, चार वटा रजत र २ वटा कास्य पदक जितेको टिकोट माविले गत वर्षको तेस्रो स्थान सुरक्षित गरेको छ । उपबिजेता र तेस्रो हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार र बिस हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति भरत पुनले जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १० वटा मावि र एक वटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए । एथलेटिक्स, भलिबल र कवड्डी बिधामा प्रतिस्पर्धा गराइएको थियो ।

बिजयी खेलाडीहरुलाई गाउपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । अध्यक्ष पुनले खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई ब्यवसायिक खेलाडी बनाउन पहल गरिने बताउनुभयो ।

प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई फागुन ७ र ८ गते बेनीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी गराइने गाउपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले बताउनुभयो ।

बेनी नगरपालिका, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकाले पालिका स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरेर जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गरिसकेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: