बेनीमा लायन्स क्लवको तेस्रो क्याबिनेट बैठक सम्पन्न (तस्बिर र भिडियो सहित)

बेनी, २५ माघ ः लायन्स क्लव ३२५ बि वान डिस्ट्रिक्टको तेस्रो क्यावीनेट बैठक शनिबार बेनीमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले नमुना, आदर्श र विशेष विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

म्याग्दीको हेम मावि शिवाङ र शिख मावि सहित प्रदेशमा छ वटा नमुना माध्यमिक विद्यालय यसै आर्थिक वर्षदेखि सुरु हुन लागेको बताउनुभयो । विद्यालय देखि टाढा घर भएका, अनाथ र विपन्न विद्यार्थीको शिक्षामा पहुँच बढाउन नमुना विद्यालय सञ्चालन गरिने उहाँले बताउनुभयो ।
“नैतिक आरणयुक्त जनशक्ति उत्पादन गर्न गण्डकी प्रदेशका ३६ वटै निर्वाचन क्षेत्रमा एक÷एक वटा आदर्श विद्यालय सञ्चालन गर्न लागेका छौ,” मन्त्री पुनले भन्नुभयो “खेल र संगितलाई महत्व दिने गरि विशेष विद्यालयको परिकल्पना गरेका छौ ।”

मन्त्री पुनले मृगौला, मुटु, उच्च रक्तचाप, सुगर जस्ता नसर्ने रोगबाट बच्ने ज्ञानसिप जनतामा हस्तान्तरण गर्न एकिकृत स्वास्थ्य अभियान चलाउन लागेको बताउनुभयो ।

“नागरिकलाई शिक्षित र स्वस्थ्य बनाउनु राज्यको दायीत्व पुरा गर्न लायन्स जस्ता सामाजिक संघ संस्थासंग सहकार्य गर्न प्रदेश सरकार तयार छ,” उहाँले भन्नुभयो “सडकलाई बेवारिसे मानवमुक्त बनाउन र लैङ्गिक हिंसा पिडितलाई सुरक्षित आश्रयस्थल बनाउन लागेका छौ ।” मन्त्री पुनले प्राबिधिक शिक्षालय र गण्डकी विश्व विद्यालय सञ्चालनको तयारी भएको बताउनुभयो ।

मन्त्रि पुनले पुरानै मानसिकताबाट अघि बढ्न खोज्ने कर्मचारीतन्त्रसंग नीति निर्माताको द्धन्द अहिलेको प्रमुख चुनौति भएको अनुभव व्यक्त गर्नुभयो । बैठकमा सूचनाको अधिकार स्थापित र पत्रकारिताको माध्यमबाट महिला शसक्तिकरणमा योगदान गरेवापत राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त यसोदा तिमिल्सीनालाई लायन्स नारी अवार्डबाट सम्मान गरिएको थियो । आयुक्त तिमिल्सीनाले नागरिक सचेत भएर सूचनाको हकको प्रयोग गर्ने हो भने राज्य संयन्त्रमा अहिले देखिएका असी प्रतिशत विकृति हट्ने बताउनुभयो ।

“जसका लागि सूचनाको हक सम्बन्धी ऐन बनेको हो उनिहरुलेनै यसको प्रयोग गर्न चासो नदेखाउनु दुखद् अवस्था छ,” तिमिल्सीनाले भन्नुभयो “हरेक मानिसले सार्वजनिक सरोकारका विषयमा सूचनाको हक प्रयोग गरेर आवाज उठाउने हो भने विभेद, अनियमितता, गुणस्तरहिनता र भ्रष्ट्राचार न्युनीकरण तथा शुसासन कायममा सहयोग पुग्छ ।”

उहाँले पुरुषको सहयोग र सर्मथन बिना महिला शसक्तिकरण तथा समानुपातिक सहभागिता सफल नहुने बिचार व्यक्त गर्दै महिलाहरु आफ्नो अधिकारप्रति अपडेट र अध्ययनशिल बन्नुपर्ने बताउनुभयो ।

बैठकको अवसरमा लायन्स क्लवले सञ्चालन गरेको पढाऔ अभियान अन्तरगत स्थापना भएको अक्षयकोषबाट म्याग्दीका चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । माउन्ट एभरेष्ट आवासीय माविका अनुषा श्रेष्ठलाई २४ हजार, गलेश्वर मावि तोरीपानीका एलिना बानियालाई आठ हजार, बेनी सामुदायिक माविका सविन परियारलाई आठ हजार र माउन्ट एभरेष्ट आवासीय माविका तेजबहादुर घर्तीलाई चार हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो ।

शुक्रबारदेखि सुरु भएको बैठकमा ४०० वटा लयान्स क्लवका एक हजार तीन सय जना प्रतिनिधिहरुको सहभागिता थियो । बैठकको अवसरमा बेनी बजारमा प्रभातफेरी गरिएको थियो । बेनी बजारको विभिन्न चोकमा मौलिक झाँकी सहित बैठकमा सहभागिहरुलाई स्वागत गरिएको थियो । म्याग्दीमा उत्पादन हुने कृषि तथा पशुजन्य बस्तु, अल्लोका कपडा, नेपाली कागज र घरेलु उद्योगका उत्पादनको प्रर्दशनी समेत भएको थियो ।

लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि वानका डिस्ट्रक्ट गर्भनर इन्दु लम्सालको अध्यक्षता, सेक्रेटरी बिनोद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । नयाँ क्लवहरुलाई आवद्धताको प्रमाणपत्र र उत्कृष्ट क्लव तथा सदस्यहरुलाई विभिन्न अवार्डबाट सम्मान गरिएको थियो ।

बैठकको पूर्वसन्ध्यामा गलेश्वर मावि तोरीपानीमा क्लवको एक करोढ ९३ लाख रुपैयाँको लागतमा निर्माण भएको आठ कोठे भवनको उद्घाटन गरिएको थियो । क्लवले बेनी अस्पताललाई शुक्रबार अठार लाख रुपैयाँ मूल्य बराबरको शिशूको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरेको थियो । म्याग्दी र पर्वत बेनीका १० वटा लायन्स क्लवहरुको आतिथ्यतामा बेनीमा बैठक सम्पन्न भएको संयोजक सन्तोष रावलले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: