दिच्यामलाई किवी गाउँ बनाउने तयारी

दिच्याम, ११ माघ । म्याग्दीको मालिका गाउपालिका–६ मा पर्ने दिच्यामलाई किवी गाउँ बनाउने तयारी भएको छ ।

बाझीएको खेतीयोग्य जमिनलाई उपभोग र कृषकहरुको आम्दानी वृद्धी गर्ने उद्देश्यले मालिका गाउपालिकाको ६ नम्बर वडा कार्यालयले दिच्याममा एक बस्ति एक उत्पादन कार्यक्रम अन्तरगत किवी खेति विस्तारमा जोड दिएको छ ।

किबी खेति विस्तारका लागि शनिबार दिच्यामका ६५ घरधुरी कृषकलाई किबिका बिरुवा वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा तीन सय रुपैयाँ मूल्य पर्ने किविका बिरुवा वितरण गरिएको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

एक हजार हेवार्ड र पाँच सय एलीसान जातको किविका बिरुवा वितरण गरिएको हो । एक जना कृषकलाई १० वटा देखि २३० वटा सम्म बिरुवा वितरण गरिएको छ । सबैभन्दा धेरै रामप्रसाद शर्माले २३० वटा बिरुवा पाउनुभएको छ ।

दिच्याममा किवि खेतिको पकेट क्षेत्र बनाउन वडा कार्यालयबाट तीन लाख र गाउपालिकाले आठ लाख रुपैयाँ बिनियोजन गरेको छ । बिरुवा वितरण बाट बचेको रकम किबीको झाललाई तारजाली र ट्रस पाईप खरिद गर्न सहयोग गरिने वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।

वडा अध्यक्ष सुवेदीको अध्यक्षता, भगवति आधारभूत विद्यालयका प्रअ जगतबहादुर खत्रीको सञ्चालन र वडा सदस्य गौमती चपाईको स्वागतमा भएको बिरुवा वितरण कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष खरमाया बिटालुले गाउमै आम्दानी र रोजगारिको अवसर सिर्जना गराउन उत्पादनमुलक कार्यक्रममा जोड दिएको बताउनुभयो ।

गत वर्ष पनि गाउपालिकाले दिच्यामका कृषकहरुलाई किबी खेतीका लागि ट्रस खरिद गर्न आठ लाख रुपैयाँ बिनियोजन गरेको थियो । दरवाङको विभिन्न बस्तिलाई हावापानी, बजार सम्भावनाका आधारमा विभिन्न बालीको पकेट क्षेत्र बनाइएको छ ।

गाउपालिकाका कृषि प्राबिधिक कबिता शर्माले किबी खेती प्रबिधि, स्याहरा सुसार, बजारीकरणका विषयमा प्रशिक्षण दिनुभएको थियो । अनुकुल भुगोल, हावापानी, उच्च बजार मूल्यका कारण म्याग्दी, पर्वत, बागलुङको उच्च पहाडी क्षेत्रका कृषक पछिल्लो समय व्यवसायिक किबी खेतितर्फ आकर्षित भएका छन् ।

म्याग्दीको राम्चे, बरंजा, दिच्याम, तोरीपानी, भकिम्ली, रुम, पर्वतको लेकफाँट र शालीजा क्षेत्रमा केही वर्षयता किबी खेति गर्ने क्रम बढेको छ । ३० वर्षअघि जापानबाट आएका स्वमसेवकले धौलागिरि क्षेत्रमै पहिलो पटक राम्चेमा किवी भित्र्याएका थिए । स्वादीलो, धेरै पौष्टिक तत्ब पाईने र स्वस्थ्यकर मानिने किवीको मुख्य उपभोक्ता पर्यटक, विदेशमा रहेका र त्यहाँबाट फर्कीएका नेपालीहरु हुन् ।
लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । किवी म्याग्दीमा भित्रीएको नयाँ फलफूल खेति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समुद्री सतहदेखि एक हजार पाँच सय देखि दुई हजार मिटरको उचाइमा किबी खेति गर्न सकिन्छ ।

१२ प्रकारका पौष्टिक तत्व पाइने किबी चिनी रोगका बिरामीहरुका लागि लाभदायक मानिन्छ । अमिलो र गुलीयो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किबी चिनमा विकास भएको फलफूल हो । पछि यो युरोपीयन देशहरुमा विस्तार भयो । न्युजील्याडले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ ।

सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय रुपैयाँ छ । निजी नर्सरीबाट तीन सय रुपैयाँ सम्ममा बिक्री हुन्छ । असिनाबाट जोगाउन सकेमा किबीबाट राम्रो प्रतिफल लिन सकिन्छ । प्रति ८ वटा पोथि बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ । एक रोपनीमा १५ वटा सम्म किबीका बिरुवा लगाउन सकिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: