पहिलो प्रदर्शन भव्य भएको भन्दै राजसंस्था फर्काउन अर्को आँधीवेहरी ल्याउने दावी

चितवन, मंसिर २२ । राजसंस्था र हिन्दुराष्ट्रको माग सहित यही मंसिर २० गते चितवनमा भएको प्रदर्शन सफल भएको आयोजक राष्ट्रवादी चितवन समाजले आज पत्रकार सम्मेलन गरी जनाएको छ । आज नारायणगढमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका संयोजक सलाउद्दिन मियाले स्वतःस्फूर्त नेपाली झण्डामा गोलबद्ध भई प्रदर्शनमा सहभागी सवैले कार्यक्रम सफल पार्न सहयोग गरेको भन्दै कुनै एउटा मात्रै आयोजक नरहेको प्रष्ट पार्नुभयो । राजसंस्थाले देशमा विकास हुन नदिएको भन्ने भ्रम जनतालाई दिएर सत्ता हासिल गरेका नेताहरुले नै देश र राष्ट्रियतालाई खोक्रो पारेको भन्दै अव देशलाई अभिभावक आवश्यक भएकाले प्रदर्शनमा आउनुपरेको बताउनुभयो ।
अहिलेको प्रदर्शनमा राजावादी मात्रै नभई सवै पार्टी, संगठन, तह र तप्काका व्यक्तिहरुको सहभागीता रहेको भन्दै सवै त्यागेर नेपाली झण्डामा आवद्ध हुनेहरु यसको हिस्सेदार रहेको मियाको भनाई थियो । राजसंस्था हटाएर विकास गर्छौंँ भन्नेहरुले भएको भूमि समेत गुमाउन लागेपछि राजसंस्था आवश्यक रहेको निष्कर्षमा आफूहरु पुगेको र छिट्टै अर्को आँधीवेहरी सहितको प्रदर्शन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“यो देशको मालिक हुनुपर्ने शालिकमा छन्, शालिकमा समेत हैसियत नराख्नेहरु मालिक छन् । जसका कारण जनताले दुख पाइरहेका छन् ।”
अहिले शान्तिपूर्ण रुपमा आफूहरुले राजसंस्था मागेको र दमन गरे सोही अनुसारको प्रतिक्रिया जनाउने उहाँको भनाई थियो । साथै प्रदर्शन अघि चितवनमा पारस शाहाको आवागमत प्रदर्शनसँग कुनै सम्वन्ध नभएको र उहाँको व्यक्तिगत भ्रमणका क्रममा चितवन आउनुभएको पनि प्रष्ट पारिएको छ ।
कार्यक्रममा सहयोग गर्ने युनिटि अफ चितवनलाई विशेष धन्यवाद दिएको आयोजकले प्रशासन तथा ट्राफिक प्रहरीलाईप्रति पनि आभार व्यक्त गरेको थियो । कार्यक्रममा शाही शक्ति नेपालका प्रमुख अभियान्ता लक्ष्मण कडेँल, चितवनका संयोजक विपीन तण्डुकार, राप्रपाका युवा नेता सुनिल क्षेत्री, शिव सेनाका अध्यक्ष एवम अभियान्ता सन्तोष अधिकारी, राष्ट्रिय सरोकार मञ्चका जिल्ला संयोजक प्रदीप चौधरी, मोहन विक्रम शाहा, ज्ञानु जंग लामा लगायतको उपस्थिती सहित भनाईहरु राख्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: