नेप्से घट्यो, ऋणात्मक सर्किट ब्रेक पछि साढे ४ घण्टामा ६ प्रतिशतको गिरावट

मंसिर २१ । केही दिनसम्म लगातार बढेको शेयर बजार घट्न थालेको छ । आज नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ । यस्तै एक महिनामा ४ सय अङ्क बढीले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री चाप बढाएकाले पनि बजार ओरालो लागेको हो ।

आइतबार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १ सय २३ दशमलव ३४ अङ्कले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अङ्कमा बन्द भएको छ । नेप्सेमा यो गिरावट अहिलेसम्मकै उच्च हो । यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात् २१ दशमलव ६२ अङ्कले घटेर ३ सय ७० दशमलव ६७ अङ्कमा बन्द भएको छ । आइतबार नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्द हुन पुग्यो ।

दिनभर एक सय ९७ कम्पनीका सात अर्ब २० करोड ९१ लख ८० हजार दुई सय १३ रुपैयाँको एक करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर खरिदरबिक्री भएको छ । त्यस्तै कारोबार सङ्ख्या ६१ हजार आठ सय ५८ रहेको छ ।

कारोबारमा आएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै अन्य समूह ९ दशमलव १३ प्रतिशतले घटेको छ । त्यसपछि जीवन बीमा समूह ८ दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधन ७ दशमलव ५९ प्रतिशत, व्यापार समूह ७ दशमलव ४२ प्रतिशत, लघुवित्त ७ दशमलव ०३ प्रतिशत, निर्जीवन बीमा ५ दशमलव ७४ प्रतिशत, जलविद्युत् ५ प्रतिशत, बैंकिङ ४ दशमलव ३३ प्रतिशत, होटल ४ प्रतिशत, विकास बैंक ३ दशमलव ४४ प्रतिशतले घटेका छन् ।

बजारमा सबैभन्दा धेरै कारोबार पुनर्बीमा कम्पनीको एक अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ । बजारमा उच्च गिरावट आए पनि नौ वटा कम्पनीका शेयरधनीले कमाएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: